काठमाडौं – बाँके जिल्लाको नेपालगञ्जस्थित मेडिकल कलेज शिक्षण अस्पतालको कोरोना भाइरस संक्रमणको उपचार केन्द्रित आइसोलेसनमा भर्ना भएका मुस्लिम पुरुषको मृत्यु भएको छ ।
बर्दियाको गुलरिया नगरपालिका–१ बढैयाका ४२ वर्षीय स्माइल बेहनाको मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. रोमन किदवाईले बताएका छन् ।
बेहना ३ दिनअघि सिकिस्त बिरामी भएर अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए । ‘अन्त कतै उपचार गरेर सिकिस्त भएर अस्पताल आएका थिए,’ डा. किदवार्ईले भने ।
बेहनामा पहिलो दिन नै दम, रुघाखोकी र ज्वरो आएको थियो । लक्षण हेर्दा कोरोना भाइरससँग मिल्दोजुल्दो भएपछि तत्कालै आइसोलेसनमा राखेर उपचार शुरू गरिएको थियो ।
मेडिकल कलेजको नेपालगञ्ज शिक्षण अस्पतालको आइसोलेसनमा हाल १३ जना शंकास्पद बिरामी राखिएको छ । शनिवार मृत्यु भएका बेहनाको स्वाब संकलन गरिएको छ तर रिपोर्ट आएको छैन ।
रिपोर्ट आएपछि मात्रै बेहनाको मृत्यु कोरोनाले भएको हो/होइन भनेर थाहा पाइने अस्पताल स्रोतले जनाएको छ । बेहनाको शव अस्पतालमा नै राखिएको छ । उनी एक–डेढ महिनाअघि भारतबाट आएको जनाइएको छ ।
पूर्वी तराईमा मुस्लिम समुदायका व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भइरहेका बेला नेपालगञ्जको घटनालाई समेत शंकास्पद रुपमा हेरिएको छ । तर प्रयोगशाला परीक्षणको नतिजापछि मात्रै मृतकमा कोरोना संक्रमण थियो कि थिएन भनेर थाहा हुने अस्पतालले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।