काठमाडौं – कोरोना भाइरस संक्रमण पहिलो पटक देखिएको चीनमा पछिल्लो समय संक्रमित व्यक्तिको संख्या निकै कम हुन थालेको थियो । संक्रमणबाट मृत्यु हुनेको संख्या पनि निकै कम थियो ।
शुक्रवार बिहानसम्म चीनमा संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या ३ हजार ३४२ मात्र रहेको कोरोना भाइरस संक्रमणसम्बन्धी तथ्यांक सार्वजनिक गरिरहेको वर्ल्डोमिटरले उल्लेख गरेको थियो ।
तर शुक्रवार भाइरस संक्रमणबाट चीनमा मृत्यु हुने व्यक्तिको संख्याबारे फरक तथ्यांक आयो । संक्रमण सुरू भएयता ४ महिनाको अवधिमा कोरोना भाइरसबाट चीनमा ३ हजार ३४२ जनाको मृत्यु भएको तथ्यांक दिएको वर्ल्डोमिटरले शुक्रवार साँझ देखायो – कोरोना भाइरसको संक्रमणबाट चीनमा मृत्यु हुने व्यक्तिको संख्या ४ हजार ६३२ पुगेको छ । शुक्रवार एकैदिन १ हजार २९० जनाको मृत्यु भयो ? कोरोना संक्रमणलाई करीब–करीब नियन्त्रण गरेको र ‘लकडाउन’ समेत हटाउँदै लगेको चीनमा एकैदिन कसरी १ हजार २९० जनाको मृत्यु भयो ?
चिनियाँ अधिकारीहरूका अनुसार हालसम्म संक्रमणबाट मृत्यु हुनेहरूको संख्या जे–जति सार्वजनिक भएको थियो, त्यो संक्रमणका कारण अस्पतालमा भएका मृतकको संख्या मात्रै थियो । पछिल्लो थप भएको संख्या अस्पतालबाहिर मृत्यु भएका व्यक्तिको रहेको छ ।
अस्पतालबाहिर विभिन्न मितिमा भएका मृत्युको संख्या एकैपटक जोडेर सार्वजनिक गर्दा एकैदिन मृत्यु भएका व्यक्तिको संख्या ह्वात्तै बढेको देखिन पुगेको जनाइएको छ ।
विभिन्न स्रोत र अस्पतालबाहिर मृत्यु भएका संक्रमितको तथ्यांक पुनः अध्ययनपछि नयाँ तथ्यांक सार्वजनिक गरिएको वुहानका स्वास्थ्य अधिकारीले शुक्रवार आयोजित पत्रकार सम्मेलनमा जनाएका छन् । पत्रकार सम्मेलनमा भनिएको छ, ‘आफ्नै घरमा मृत्यु भएका व्यक्तिहरूको मृत्यु गणना पहिले गरिएको थिएन । त्यही संख्या अहिले हामीले थपेका हौं ।’
तर कतिपयले भने संक्रमण मृत्युदर ढाकछोप गरेको आरोप लगाएका छन् । चीनमाथि यस्तो आरोप खासगरी पश्चिमा जगतबाट लाग्दै आएको छ । तर चिनियाँ अधिकारीले आरोप खण्डन र अस्वीकार गर्दै आएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।