आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

जनताको बिद्रोह रोक्न कम्युनिस्ट सरकारले आयोग बनायोः कांग्रेस नेता चौधरी

जनताको बिद्रोह रोक्न कम्युनिस्ट सरकारले आयोग बनायोः कांग्रेस नेता चौधरी

  • शुक्रवार, बैशाख ५ २०७७

  • 5.9K
    SHARES

  • काठमाडौं–नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद योगेन्द्र चौधरीले कोराना भाइरसको संक्रमणका कारण खाद्य सुरक्षामा चुनौती आउने चेतावनी दिएका छन् । मिडिया डबलीसँग बिहीबार कुरा गर्दै चौधरीले सरकारले अहिलेसम्म खाद्य सुरक्षाका विषयमा उचित तयारी नगरेको आरोप लगाए । उनले सरकारलाई विवेक गुमाइसकेको भनेर आलोचना गरेका छन् । जनताका समस्या समाधान गर्ने बेला बेमौसममा जग्गा दिने बहानमा आयोगहरू बनाएर आफ्ना नेताहरू पाल्ने कार्य गरेको चौधरीले बताए ।

    ‘कोरोना भाइरसले गर्दा मुलुकको अर्थतन्त्रलाई संकट आउने पक्का छ’, उनले भने, ‘त्यति मात्रै होइन खाद्य सुरक्षाको अर्को ठूलो चुनौतीपनि सँगै आएको आउनेछ ।’ कांग्रेस नेता चौधरीले अर्थ र कृषि विज्ञहरूसँग परामर्श गरेर सरकारले दुई हप्ताभित्र खाद्य सुरक्षाको चुनौती कृषिमार्फत कसरी परिपूर्ति गर्न सकिन्छ भनेर उचित कार्यक्रम ल्याउन सुझाव दिए । कांग्रेसका केन्द्रीय सदस्य चौधरीले केन्द्र सरकारले स्थानीय सरकारमार्फत किसानहरूलाई घरमै बीउ उपलब्ध गराउने व्यवस्थाको पनि माग गरेका छन् । ‘कोरोना भाइरसको संक्रमणका कारण एकठाउँबाट अर्को ठाउँमा जान पनि जनताहरू डराइरहेका छन्’, उनले भने, ‘स्थानीय सरकारमार्फत किसानलाई बीउ र मलको व्यवस्था समयमा गरिदिनुपर्छ । कार्यक्रम ल्याउनुपर्छ ।’

    युवा नेता चौधरीले लकडाउनका कारण गाउँमा गहुँबाली भित्र्याउन किसानहरूलाई समस्या भएको बताए । ‘लकडाउनका कारण किसानहरूलाई खेतमा पाकेको गहुँबाली भित्र्याउन समस्या भएको छ । मजदुरहरू पाइएका छैनन्’, उनले भने, ‘यस विषयमा पनि सरकारले विशेष ध्यान दिनुपर्छ ।’

    उनले गाउँमा किसानसँग रहेको खाद्यान्नलाई स्थानीय सरकारमार्फत खरिद गरेर राख्न पनि केन्द्र सरकारलाई सुझाव दिएका छन् ।

    कोरोना भाइरसको संक्रमणबाट हुन सक्ने खाद्य चुनौतीलाई समाधान गर्न धान र मकै खेतीमा पनि विशेष ध्यान दिन उनले आग्रह गरेका छन् । ‘धान र मकै बालीको खेती दुई पटक गर्न सकिन्छ’, उनले भने, ‘सरकारले कृषि मन्त्रालयमार्फत यो विषयमा योजना बनाएको खोइ रु लकडाउनका कारण घरमा बसेर ठूला कुरा गर्दैमा प्रधानमन्त्री, मन्त्री र उच्च तहमा बसेका कर्मचारीहरूको जिम्मेवारी पूरा हुँदैन । किसानलाई कार्यक्रम दिनुप¥यो ।’ कांग्रेस नेता चौधरीले धान र मकैलाई दुई पटक उत्पादन गर्ने नीतिलाई सरकारले विशेष प्रोत्साहन दिनुपर्ने बताएका छन् ।

    किसानहरूलाई राहत र अन्नबाली उत्पादनमा सहयोग गर्ने बेला सरकार कमिशनको चक्करमा लागेको भन्दै चौधरीले चिन्ता जनाएका छन् । ‘कृषि उपजलाई कसरी बढाने रु भन्ने विषयमा सरकारको ध्यान जान सकेको छैन’, उनले भने, ‘सरकारका मन्त्रीहरू माफियाको घेराबन्दीमा घेरिएर बसेका छन् ।’

    सरकारले विपक्षी दल कांग्रेसले यस्तो संकटका बेला साथ दिनुभन्दा अर्को बिकल्प नरहेको उनले बताए । ‘कांग्रेसले सरकारले साथ दिएका छ’, नेता चौधरीले भने, ‘सरकारले गर्ने गलत कुराको कांग्रेसले समर्थन गर्न पनि सक्दैन । आलोचना र सहयोग दुबै गर्न तयार छौँ । देश र जनताप्रति कांग्रेसको पनि दायित्व छ । आँखा चिम्लिन पनि सकिदैन ।’

    उनले किसानहरूको उच्च मनोबल हुने गरेर छिटोभन्दा छिटो कार्यक्रम सार्जजनिक गर्न माग गरेका छन् । ‘सरकारले किसानहरूको ब्याज मिनाहको घोषणा गरेको भनेको छ । तर, बैंकहरूले फोन गरेर ब्याजको पैसा माग्न थालिसकेका छन्’, चौधरीले भने, ‘यो विषयमा बैंकहरूलाई मैले फोन गरेर सोधेको थिएँ । बैंकहरूले हामीलाई ब्याज मिनाहको कुनै जानकारी आएको छैन भन्छन् । यो सरकार के हेरेर बसेको छ ?’

    किसानहरूमार्फत खाद्यान्नमा नेपाल आफै आत्मनिर्भर हुनुपर्ने उनले बताए । ‘नेपाल आफै खाद्यमा आत्मनिर्भर बन्नुपर्छ’, उनले भने, ‘सिङ्गो विश्व नै कोरोनासँग जुधिरहेका बेला बाहिरबाट खाद्यान्न आउला भनेर हामीले आशा गर्नु हुँदैन । आफैले उत्पादन गर्नेतिर जानुपर्छ ।’

    कांग्रेसका केन्द्रीय सदस्य चौधरीले कोरोना भाइरसको संक्रमण रोकथाममा कमजोर सावित भएको सरकारले जनताको बिद्रोहलाई मत्थर बनाउन सुकुम्बासी र भूमिहीनलाई जग्गा दिने भनेर आयोग बनाएको आरोप लगाए । ‘कोरोनाका कारण सरकार आलोचित बनेको छ । अति विपन्न र कमजोर आर्थिक अवस्था भएका जनताले बिद्रोह नगरुन् भनेर सरकारले जग्गा दिने बहना बनाएर भूमिसम्बन्धी समस्या समाधान आयोग बनाएको बताए ।

    ‘यो बेला कमजोर आर्थिक अवस्था भएका मान्छेले बिद्रोह गर्छ कि भनेर सरकारले जग्गा दिने बहाना बनाएर बिद्रोहलाई थामथुम पार्ने प्रयास गरेको छ’, उनले भने, ‘जग्गा दिने बहानामा जनतालाई विषयान्तर गर्न बेमौसमी काम सरकारले गरेको छ ।’ कोरोना भाइरसको संक्रमणविरुद्ध सबै एकजुट भएका बेला आयोगको कुनै अर्थ नरहेको उनले बताए ।

    कोरोना भाइरसको संक्रमण रोकथामको स्वास्थ्यसम्बन्धी उपकरण र औषधि ल्याउन नसक्ने सरकारबाट जनताले आश र भरोसा गर्न छाडिसकेको बताए । उनले लकडाउनका कारण समस्यामा परेका मजदुर र अति निम्न परिवारलाई खानेकुरा दिन नसकेको भन्दै आपत्ति जनाए ।

    उनले सरकारलाई विवेक गुमाइसकेको आरोप पनि लगाएका छन् । लकडाउनबाट समस्यामा परेका जनतालाई सहायता गर्नेतिर सरकारले कुनै चासो नदेखाएको कांग्रेस नेता चौधरीले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख ५ २०७७०७:२६:४१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend