काठमाडौं – कोरोना भाइरस संक्रमणको महामारी नियन्त्रणका लागि अझै केही समय लाग्न सक्ने र सोही कारण सन् २०२२ सम्म ‘सोसल डिस्ट्यान्सिङ’ (सामाजिक दूरी) विस्तार गर्नुपर्ने हुनसक्ने एउटा वैज्ञानिक अध्ययनले देखाएको छ ।
अनुसन्धानको आधारमा कोरोना भाइरसको प्रकोप सन् २०२४ सम्म जारी रहनसक्ने निष्कर्ष समेत निकालिएको छ ।
अमेरिकाको हार्डभर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताले हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोस्टको अनलाइन संस्करणमा अनुसन्धानको निष्कर्ष प्रकाशित गरेका छन् ।
संक्रमण रोक्न सामूहिक रूपमा मानिसहरु भेला हुने, स्कूल, पार्टी लगायतका घरबाहिरका क्रियाकलापलाई ‘सोसल डिस्ट्यान्सिङ’ अन्तर्गत राखिएको छ । यसलाई प्रभावकारी बनाउन विश्वका अधिकांश मुलुक यतिबेला लकडाउनमा रहेका छन् ।
हार्डभर्ड जनस्वास्थ्य विद्यालयका ५ अनुसन्धानकर्ताको समूहले तयार गरेको अध्ययनले आगामी ४ वर्षभित्रमा भाइरसले पुनः संकट पार्न सक्ने निष्कर्ष निकालेको छ । अध्ययनको निष्कर्ष छ, ‘स्थानीय रूपमा लामो समयका लागि सामाजिक दूरी कायम गर्नु नपर्ने हुन सक्छ । तर बाह्य मुलुक एवं लामो दूरीका लागि भने भने सन् २०२२ सम्म सामाजिक दूरी कायम गर्नुपर्ने हुनसक्छ ।’
कोरोना भाइरसविरुद्ध खोप, गुणस्तरीय उपचार व्यवस्था एवं जटिल उपचार सुविधा नभए यस्तो स्थिति सिर्जना हुन सक्ने अनुसन्धानकर्ताले जनाएका छन् । संक्रामक रोगको पुनर्उत्थान हुन सक्ने भएका कारण अहिलेको अवस्थामा भाइरस स्पष्ट रूपमा उन्मूलन भएपनि कोरोनाको निगरानी २०२४ सम्म गरिराख्नुपर्ने अनुसन्धानको निष्कर्षमा उल्लेख छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।