बिहिवार, बैशाख ४ २०७७
काठमाडौं– नेपाली कांग्रेसका युवा नेता तथा पूर्वस्वास्थ्य मन्त्री गगन थापाले संकटको बेला बिरामीको उपचार गर्न नमान्ने निजी अस्पतालहरूलाई कारबाही गर्न सरकारलाई दवाव दिएका छन् ।
एक टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा नेता थापा संकटका बेला निजी अस्पतालहरूले सरकार र जनतालाई सहयोग गर्नुपर्ने बताए । उनले आवश्यक प¥यो भने त्यस्ता निजी अस्पतालको लाइसेन्स नै खारेज गर्न सरकारलाई सुझाव दिएका छन् ।
‘यस्तो बेलामा निजी सरकारी भन्ने नै हुँदैन । वैधानिक हिसाबले पनि हुँदैन’, उनले भने, ‘निजीले स्वीकृत लिँदा यस्तो आपतकालीन अवस्थामा सरकारले जेजे काम लगाउँछ म सबै काम गर्छु र म सरकारी बराबर काम गर्छु भन्ने सार मानेर लिएको हुन्छ ।’
‘उसको निजी स्वार्थ हुँदैन । उसको निजी सम्पत्ति पो लिन हुँदैन’, उनले भने, ‘खोस्न पो पाइन्न । अरु सबै काम लगाउन पाइन्छ ।’
‘दोस्रो, मैले शुरुमै संसदमा प्रस्ताव राख्ने बेलामा स्वास्थ्यमन्त्रीलाई सार्वजनिक र पर्सनल्ली भनेको थिएँ’, थापाले भने, ‘काठमाडौंमा तपाईँ एउटा प्राइभेट मेडिकल कलेज लिइहाल्नुस् अहिले नै । आवश्यक परे दुइटा लिनुस् ।’
‘डेडिकेटेड कोरोना ट्रिटमेन्ट गर्ने अस्पताल बनाउनुस् तत्कालका लागि । केही समयको लागि अन्त जानै पर्दैन’, उनले भने, ‘टिचिङ, वीरजस्ता अस्पतालमा नियमित उपचार दिन लगाउनुस् । यसरी नियमित उपचार प्रभावित भएन । र, प्रत्येक यस साइजको अस्पतालको अगाडि फिभर क्लिनिक खोल्न लगाउनुस् । एक जनालाई छुट नदिनुस् । तपाईँसँग यो अधिकार छ । तपाईँले गर्न पाउनुहुन्छ ।’
थापाले भनेका छन्, ‘यतिमात्रै होइन, काठमाडौंमा १० प्रतिशत फ्रि बेड दिनुपर्छ भन्ने नियममा छ, कार्यान्वयन भएको रहेनछ ।’
‘कार्यान्वयन गराउन शुरु गर्दा बल्ल मैले के थाहा पाएँ भने ७० प्रतिशतभन्दा बढी निजी त स्वास्थ्य मन्त्रालयमा दर्ता पनि भएको रहेनछ’, उनले भने, ‘दर्ता भएका कतिले नवीकरण नै गरेको थिएन । ५१–५२ सालतिर एकपटक दर्ता भएको रहेछ, त्यसपछि कहिले फर्केर पनि आएको रहेनछ ।’
‘ठूलोठूलो अस्पताल पनि । प्राइभेट मेडिकल कलेजहरू शिक्षा मन्त्रालयबाट स्वीकृत लिएर मेडिकल कलेज भनेर चलेको छ तर स्वास्थ्य मन्त्रालयलाई त्यसले चिन्दा पनि चिन्दा रहेनछन्’, थापाले भने, ‘रातारात निर्दे्शिका बनाएर मैले एउटा मेडिकल कलेज ४० लाख रुपियाँ जरिवाना पनि गरेको थिएँ ।’
‘४० लाख, ३० लाख, २० लाख फाइन तिराएर एक महिनाको समय दिएर, दर्ता नगरे खारेज गर्छु भनेपछि दर्ता गरेँ’, उनले भने, ‘त्यतिखेर प्रधानमन्त्री प्रचण्डजीले धेरै ठूलो सहयोग पनि गर्नुभयो ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।