काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस संक्रमण रोकथामका उपायबारे भोलि मंगलवार बिहान देशबासीका नाममा विशेष सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्री मोदीले मंगलवार बिहान सवा १० बजे राष्ट्रलाई सम्बोधन गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रधानमन्त्री मोदीले कोरोना भाइरस भारतमा देखिएपछि २६ दिनयता देशबासीका नाममा चौथो सम्बोधन गर्न लागेका छन् । भोलिको सम्बोधनमा प्रधानमन्त्री मोदीले लकडाउन बढाउने घोषणा गर्ने सम्भावना रहेको जनाइएको छ ।
मोदीले गत २४ मार्चमा राष्ट्रको नाममा सम्बोधन गर्दै कोरोना भाइरसको संक्रमण रोक्न २५ मार्चदेखि देशभर लकडाउनको घोषणा गरेका थिए ।
भोलिको सम्बोधनबाट मोदीले आगामी २ हप्तासम्म लकडाउन लम्ब्याउन सक्ने गरी छलफल गरेका थिए । केही दिनअघि सबै प्रान्तका मुख्यमन्त्रीसँग छलफल गर्दै मोदीले लकडाउन लम्ब्याउने सन्देश दिएका थिए ।
भारतमा कोरोना भाइरसका संक्रमित बढिरहेको र लकडाउन लम्बिएको अवस्थामा त्यसको असर नेपालमा समेत पर्ने देखिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार मुख्यमन्त्रीहरूसँग छलफल गर्दै भारतमा लकडाउन बढिरहेको अवस्थामा नेपालमा लकडाउन छिट्टै नहट्ने जानकारी दिएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।