वीरगञ्ज – भारतीय मिडियाले प्रशारण गरेको समाचारका कारण कोरोना भाइरस संक्रमण फैलिएको विवादमा परेका पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मिया मुखियालाई नेपाल सरकारले समेत शंकाको घेरामा राखेको छ ।
सरकारी चिकित्सकको टोलीले अध्यक्ष मुखियालाई शंकाको घेरामा राख्दै कोरोना भाइरस संक्रमण जाँचका लागि स्वाब संकलन गरेको छ ।
चिकित्सकको टोलीले अध्यक्ष मियासँगै उनको परिवारका सदस्यसहित ३४ जनाको स्वाब सोमवार संकलन गरेर परीक्षणका लागि हेटौंडाको प्रयोगशालामा पठाइएको छ । नारायणी अस्पतालबाट खटिएका स्वास्थ्यकर्मीले वीरगञ्जको पावर हाउस चोक नजिकै रहेको मियाको घरमै पुगेर कोरोना संक्रमणको आशंकामा परीक्षणका लागि स्वाब संकलन गरेको छ ।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले वीरगञ्जमा कोरोना भाइरसका ३ जना भारतीय संक्रमित भेटिएपछि शंकास्पद व्यक्ति सबैको स्बाब संकलन गर्न स्थानीय प्रशासनले नारायणी अस्पताललाई निर्देशन दिएको जनाएका छन् । त्यसक्रममा ३ जना संक्रमितसँगै सम्पर्कमा रहेका र अन्य शंकास्पद गरी सोमवार ३४ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि हेटौंडाको प्रयोगशालामा पठाइएको जानकारी दिए ।
भारतका टीभी ९, न्यूज १८, जी न्यूज, एबीपी लगायतका टेलिभिजन च्यानलले नेपालको पर्साको जगरनाथपुरको जानकीटोला निवासी जालिम मिया मुखिया नामका व्यक्तिले नेपालबाट कोरोनाका शंकास्पद ४० देखि ५० बिरामीलाई भारतमा घुसपैठ गराउन षड्यन्त्र गरिरहेको खबर भारतीय सुरक्षाकर्मीको हवाला दिएर चैत २८ गते प्रशारण गरेका थिए ।
भारतीय टीभीमा समाचार आएपछि नेपालमा तीन जना भारतीयमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।