काठमाडौं – भारतबाट तीर्थयात्रा गरेर फर्किएकी ६५ वर्षीया एक महिलाका कोरोना भाइरस संक्रमण जाँच गर्ने पहिलो चरणको प्रक्रिया र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटमा पोजेटिभ नतिजा आएको छ ।
आईतवार काठेखोला गाउँपालिकामा गरिएको परीक्षणको क्रममा वडा नम्बर ६ बाट आएकी ती महिलाको रिपोर्ट पोजेटिभ देखिएपछि क्वारेन्टाइनमा राखेर स्वाब परीक्षणको तयारी गरिएको स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख सुरज गुरौले बताएका छन् ।
लकडाउन हुनु केहीअघि ती महिला भारतको गयामा तीर्थयात्रा गरेर फर्किएकी थिइन् । उनीसँगै गएकाहरूको समेत खोजी भइरहेको गाउँपालिका अध्यक्ष अमर थापाले बताएका छन् ।
ती महिलाको घरपरिवार र सम्पर्कमा रहेका सबैको पनि स्वाब परीक्षण गर्न लगाउने उनले बताएका छन् ।
गाउँपालिकामा ४४ जना भारतबाट आएका र ८ जना अन्य देशबाट आएकाहरूको आरडीटी किटबाट कोरोना परीक्षण गरिएको थियो । ती महिलाको स्वाब संकलन गरेर तत्काल पोखरा पठाइने धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताएका छन् ।
‘आरडीटी शतप्रतिशत प्रभावकारी नहुने भएकाले स्वाब परीक्षणपछि मात्र पोजेटिभ भए/नभएको बताउन सकिन्छ,’ पोखरेलले भने, ‘तत्कालका लागि शंकास्पदको रुपमा क्वारेन्टाइन गरेर अब्जर्भेसन गरिएको छ ।’
यसअघि बाग्लुङमा २ जना कोरोना भाइरस संक्रमणका बिरामी फेला परिसकेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।