आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोना भाइरसबारे नयाँ खुलासा : रुघाखोकी, ज्वरो लक्षण नदेखाउँदै यति खतरनाक !

कोरोना भाइरसबारे नयाँ खुलासा : रुघाखोकी, ज्वरो लक्षण नदेखाउँदै यति खतरनाक !

  • शुक्रवार, चैत्र २८ २०७६

  • 4.2K
    SHARES

  • काठमाडौं – चैत २२ गते कोरोना संक्रमण पुष्टि भएकी कैलालीकी ३४ वर्षीया महिलामा कुनै लक्षण देखिएको थिएन । दुबईबाट आएका उनका आफन्तमा कोरोना संक्रमण पुष्टि भएपछि घरका अन्यलाई पनि जाँच गर्ने क्रममा ती महिलामा कोरोना संक्रमण पुष्टि भयो । नेपालमा कोरोना संक्रमित व्यक्तिबाट अर्काे व्यक्तिमा संक्रमण भएको पहिलो घटना थियो । यस नयाँ संक्रमणलगत्तै सरकारले कोरोना संक्रमण दोस्रो चरणमा पुगेको जनाउँदै लकडाउनको समय थपेको थियो । विश्वव्यापी रूपमै विना लक्षणका संक्रमितले बढी संक्रमण फैलाइरहेको देखिएको छ । कोलम्बिया विश्वविद्यालयका इपियोडिमियोलोजिस्ट स्टेफन मोर्सले ‘लक्षण नै नदेखिइरहेका मानिसले उल्लेख्य रूपमा संक्रमण फैलाइरहेको’ जनाएका छन् । अमेरिकी राष्ट्रिय रोग नियन्त्रण एवं रोकथाम केन्द्रका निर्देशक रोबर्ट रेडफिल्डले कोरोना भाइरसबाट संक्रमित अमेरिकीमध्ये २५ प्रतिशत संक्रमितमा कुनै लक्षण नदेखिएको एवं उनीहरू बिरामी पनि नपरेको बताएका छन् । लक्षण नै देखा नपरेका मानिसले विश्वभर तीव्र रूपमा संक्रमण फैलाइरहेको उनले बताए । हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १५ लाख नाघिसकेको छ । ‘थाहा नभएका संक्रमित जति पनि हुन सक्छन्, बिरामी भएका र गम्भीर बिरामी भएका मानिसहरू मात्रै अस्पतालमा छन्,’ उनले भनेका छन् । न्यू इडल्यान्ड जर्नल अफ मेडिसिनमा बिल गेट्सले त्यस्ता लक्षण नदेखिएका मानिसबाट संक्रमण फैलिन नदिन कुनै तयारी नभएको उल्लेख गर्दै एक रिपोर्ट लेख प्रकाशित गरेका छन् । ‘कोरोना भाइरस मिडिल इस्ट रिस्पाइरेट्रीभन्दा तीव्र र हानिकारक रूपले फैलिरहेको छ,’ गेट्सले भने । के हो लाक्षणिक र विलाक्षणिक संक्रमण ? लक्षण नै नदेखिएको मानिसबाट कोरोना भाइरस संक्रमण हुन सक्छ भन्ने रहस्य पहिलोपटक फेब्रुअरीमा देखिएको हो । चीनको वुहानमा लक्षण नै नदेखिएका २० वर्षीय युवकबाट घरकै पाँच जना सदस्यमा कोरोना भाइरसको संक्रमण फैलिएको पाइएको थियो । चीनमै प्रकोप फैलिइरहेका बेला विश्व स्वास्थ्य संगठनले एक रिपोर्ट सार्वजनिक गरेको थियो । रिपोर्टले कुनै किसिमको लक्षण नदेखिएका मानिसमा समेत कोरोना भाइरसको संक्रमण भएको देखाएको थियो । लक्षण नदेखिएका मानिसको समूहका केही मानिसमा पछि सामान्य लक्षण देखिएपनि धेरै मानिस भने लक्षण नदेखिएरै निको समेत भए । यस्ता लक्षण नदेखिएका मानिसबाट अन्य मानिसमा संक्रमण फैलिएको घटनाको पुष्टि भने कम देखिएको छ । चीनमा सुरूमा संक्रमणको लक्षण नदेखिएका ७५ प्रतिशत संक्रमितमा पछि लक्षण देखिएको प्रोरिपब्लिकाले सार्वजनिक गरेको थियो । त्यसकारण लक्षण नदेखिएका बेला ती मानिसबाट अन्यमा संक्रमण फैलन सक्ने सम्भावना उच्च हुने गरेको छ । त्यस्तो अवस्थाले धेरैमा संक्रमण फैलन सक्ने सम्भावना पनि देखिएको छ । केही दिनअघि अमेरिकाको रोग नियन्त्रण एवं रोकथाम केन्द्रले कोरोना संक्रमित २३ बिरामीमाथि गरेको एक अध्ययन सार्वजनिक गरेको थियो । अध्ययनले लक्षण नदेखिएका ती २३ संक्रमितमध्ये १० संक्रमितमा भाइरसमुक्त अर्थात निको भइसकेपछि मात्रै लक्षण देखिएको जनाएको थियो । अर्काे समूहका १० जनामा १ हप्तापछि लक्षण देखिएको थियो । डायमण्ड प्रिन्सेस पानीजहाजबाट जापानमा क्वारेन्टाइनमा राखिएका ३ हजार ७ सय ११ जनामध्ये ७ सय १२ जनामा संक्रमण देखिएको थियो । अमेरिकी रोग नियन्त्रण केन्द्रले तीमध्ये ५० प्रतिशतमा त्यतिबेला कुनै लक्षण नदेखिएको जनाएको छ । लक्षण देखिनुभन्दा ४८ घन्टाअघि संक्रमितले अरू मानिसमा संक्रमण फैलाइरहेको रेडफिल्डको भनाइ छ । केही दिनअघि जापानका विशेषज्ञहरूले सार्वजनिक गरेको एक अध्ययनले वुहानमा संक्रमित पाइएका ३० प्रतिशतमा कुनै लक्षण नदेखिएको देखाएको छ । सिंगापुरमा पनि स्थानीय रूपमा संक्रमित भएका १ सय ५७ जनामध्ये १० जनामा लक्षण नदेखिएको अवस्थामा अरूलाई संक्रमण फैलाएको पाइएको छ । सीडीसीमै प्रकाशित भएको उक्त अध्ययनले ती मानिसले लक्षण देखिनुभन्दा ३ दिनअघिबाट नै संक्रमण फैलाएको उल्लेख गरेको छ । आइसल्यान्डको एक बायोटेक कम्पनीले ९ हजारभन्दा बढीलाई जाँच गरेको र तीमध्ये संक्रमण देखिएकामध्ये ५० प्रतिशतमा कुनै लक्षण नदेखिएको अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले उल्लेख गरेको छ । हङकङमा २३ कोरोना संक्रमितमा गरिएको एक अध्ययनले संक्रमित व्यक्तिले पहिलो हप्ताभित्रै नै तीव्र संक्रमण फैलाउने र त्यसपछि ती व्यक्तिबाट संक्रमण कम हुने देखाएको छ । अर्थात् पहिलो हप्तामा ती संक्रमित रहेको वातावरणमा बढी भाइरस पाइएका हुन् भने हप्ता दिनपछि क्रमशः कम हुँदै गएको थियो । गत बुधवार लान्सेटमा प्रकाशित भएको एक जर्नलले १७ जनवरीदेखि मार्च १ सम्म चीनका ३ अस्पतालमा ३६ बालबालिकामा कोरोना भाइरस देखिएको उल्लेख गरेको छ । तीमध्ये आधाभन्दा बढीमा कुनै लक्षण नै नदेखिएको र सामान्य अवस्थामा रहेका थिए । एक अर्काे अनुसन्धानले चीनमा संक्रमित ७ सय बालबालिकामध्ये ५६ प्रतिशतमा कुनै लक्षण नदेखिएको, सामान्य अवस्था रहेको जनाएको छ । अमेरिकाको पिट्सबर्ग मेडिकल सेन्टरका बाल संक्रमण रोग विशेषज्ञ जोन विलियमले १० देखि ३० प्रतिशत बालबालिकामा संक्रमण भए पनि लक्षण नदेखिइरहेको एबीसीलाई जनाएका छन् । त्यसकारण विना लक्षणका मानिसबाट समेत संक्रमण फैलिने सम्भावना देखिएका कारण कपडाकै मास्क भएपनि प्रयोग गर्न विज्ञहरूले सुझाएका छन् । अमेरिकी राष्ट्रिय संक्रामक रोग संस्थानका निर्देशक एन्थोनी फौसीले ‘खोकी नलागेका, हाच्छ्युँ नगरिरहेका एवं स्वस्थ देखिइरहेका मानिसबाट समेत संक्रमण हुन सक्ने’ जनाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, चैत्र २८ २०७६०२:१६:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend