काठमाडौं – नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले चीनबाट स्वास्थ्य सामग्री खरिदका क्रममा अनियमितता गर्ने मन्त्रीदेखि कर्मचारीलाई कारवाही गर्न माग गरेका छन् ।
सामाजिक सञ्जालमा धारणा सार्वजनिक गर्दै अध्यक्ष बस्नेतले खरिद सम्झौता रद्द गरेर मात्रै कसैलाई उन्मुक्ति दिन नहुने अडान लिएका छन् ।
‘अनियमितता भयो भनिएको स्वास्थ्य सामग्री खरिद प्रक्रिया रद्द गरेर मात्र उन्मुक्ति पाइँदैन । सो प्रक्रियामा संलग्न मन्त्री, कर्मचारी र व्यापारी लगायत सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्छ भन्ने जोडदार माग गर्दछु,’ अध्यक्ष बस्नेतले भनेका छन्, ‘महामारीको बेला जनतालाई राहत र सहास दिँदै जिम्मेवार बन्नुपर्ने सरकार अनियमितता र कमिसनमा जस्ता घृणित कार्यको वरिपरि घुमिरहेको छ ।’
खरिद प्रक्रियामा भएको अनियमितताबारे समाचार प्रकाशित गर्ने काठमाडौं प्रेस अनलाइनमाथि असंवैधानिक ढंगबाट गरिएको नियन्त्रण आपराधिक कार्य भएको उनले बताएका छन् । ‘सोही खरिद प्रक्रियाका विषयमा समाचार प्रकाशित गर्ने काठमाडौं प्रेस नामक अनलाइन सञ्चारमाध्यमको सामग्रीमा असंवैधानिक ढंगबाट गरिएको नियन्त्रण र पत्रकार महासंघका महासचिव रमेश विष्टलाई दिइएको धम्की आपराधिक कार्य हो,’ उनले भने, ‘लोकतन्त्र र प्रेस स्वतन्त्रतालाई आत्मसात गर्ने नेपाल तरुण दल र अन्य लोकतान्त्रिक शक्तिलाइ यस्ता घृणित कार्य सह्य हुँदैन । जय नेपाल, जय तरुण !’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।