कास्की – पोखरा महानगरपालिका–६ लेकसाइडमा चाइनिज व्यवसायीद्वारा सञ्चालित अप इन द उइन्ड नामक डिपार्टमेन्टल स्टोरमा भएको मास्क कालोबजारीको गत शनिवार पर्दाफास भएको छ ।
१० रुपैयाँ पर्ने सर्जिकल मास्कलाई ३० देखि ५० रुपैयाँसम्म बेच्ने गरेको खबर स्थानीयले नेविसंघ कास्कीका नेता बिपिन पौडेललाई गराएपछि उनले कालोबजारी धन्दाको पर्दाफास गरेका छन् ।
नेता पौडेल ग्राहक बनेर पसलमा जाँदा मास्कको मूल्य ४० रुपैयाँ पर्ने भनेर कर्मचारीले बताएका थिए । कालोबजारी गर्नेलाई छोड्न हुन्न भन्ने मान्यताले विद्यार्थी नेता पौडेलले नेविसंघ पोखरा–६ इकाईका वडा सभापति बिष्णु पहारीसँग समन्वय गरी चिनियाँ व्यवसायीद्वारा गरिएको कालोबजारीको पर्दाफास गर्ने र व्यवसायीलाई कारबाहीको दायरामा ल्याउने योजना बनाए ।
नेता पौडेल र पहारीले न्युज२४ का मिडियाकर्मी उत्तम पौडेललाई खबर गरेका थिए । केही समयमा मिडियाकर्मी पौडेल पुगे र बैदाम प्रहरीलाई पनि खबर गरेर बोलाइएपछि प्रहरीले कारवाही अगाडि बढाएको थियो ।
कालोबजारी गरिएको प्रमाण बैदाम प्रहरीलाई देखाइएपछि प्रहरीले पसलमा छापा हानेको थियो । पसलबाट करीब ११०० बढी मास्क जफत गरिएको र अन्य ठाउँमा स्टक राखिएको हुनसक्ने र कालोबजारी गरेको हुनाले चिनियाँ व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
मिडियाकर्मी उत्तम पौडेलद्वारा तयार गरिएको रिपोर्टिङ मंगलबारको सिधा कुरा जनतासँग कार्यक्रममा प्रस्तुत गरिएको थियो ।
नेता पौडेलले भने, ‘संकटकालीन अवस्थामा होस् वा अन्य कुनै बेला कोही कसैले केहीमा कालोबजारी गरेको पाइएमा आफू र सिंगो संगठन नेपाल विद्यार्थी संघले व्यवसायी जो कोही भएपनि छाड्दैन ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।