चितवन – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला चितवनमा कोरोना भाइरस संक्रमण निको पार्ने भनेर धर्म प्रचार गर्दै हिँडेकी क्रिस्चियन महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
कोरोना संक्रमणबाट बच्न सरकारले गरेको ‘लकडाउन’मा महिलाहरू भेला पार्दै कोरोना ठीक पारिदिने आश्वासन बाडेर धर्म प्रचार गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्ला चितवन माडी नगरपालिका–७ जगन्नाथपुरी बस्ने ३८ वर्षीया जानकी ढुंगाना रहेकी छन् । उनले येशुलाई विश्वास गर्नुस् तपाईहरूलाई केही हुँदैन, हाल फैलिरहेको कोरोना भाइरसले समेत छुन सक्दैन भन्दै स्थानीयलाई भ्रम फैलाउँदै हिँडेको स्थानीयको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
स्थानीय महिला भेला पार्दै अफवाह फैलाउने डुंगानालाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नान्तिराज गुरुङले बताएका छन् ।
पक्राउ परेकी महिलालाई मुलुकी अपराध संहिता २०७४ को दफा ११८ अन्तर्गत अभद्र व्यवहारमा आईतबार मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाएको जनाइएको छ ।
यसअघि पोखरामा समेत येशुले कोरोनाबाट बचाउने भनेर भ्रम फैलाउने पास्टरलाई प्रहरीले पक्राउ गरेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।