काठमाडौं – नेपाली कांग्रेसका चर्चित युवा नेता एवं पूर्व सांसद रामहरि खतिवडाले प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राईलाई कोरोना भाइरस विरुद्धको अभियानमा तीब्रताका साथ लाग्न आग्रह गर्दै औषधि र स्वास्थ्य सम्बन्धी उपकरणहरू प्रदेशका सबै जिल्लामा पुर्याउन आग्रह गरेका छन् ।
युवा नेता खतिवडाले शनिवार मुख्यमन्त्री राईलाई फोन गरेर प्रदेशका सबै जिल्लाहरूमा कोरोना भाइरसविरुद्धको उपचारमा चिकित्सकलाई आवश्यक पर्ने सबै सामग्रीहरू उपलब्ध गराउन आग्रह गरेका हुन् ।
जवाफमा मुख्यमन्त्री राईले आईतबार सबै जिल्लामा कोरोना भाइरसको उपचारमा आवश्यक पर्ने सामग्री पठाउने आश्वासन दिएको खतिवडाले बताएका छन् ।
कांग्रेस नेता खतिवडाले प्रदेशका सबै जिल्लामा कोरोना भाइरसको संक्रमणको नमूना परीक्षणको व्यवस्था गर्न पनि मुख्यमन्त्री राईसँग आग्रह गरेका थिए । खतिवडाले लकडाउनका कारण समस्यामा परेका जनतालाई राहतका कार्यक्रम दिन पनि आग्रह गरेका छन् ।
कांग्रेस नेता खतिवडाले स्थानीय तहले कोरोना भाइरसको संक्रमण रोक्न विषयमा जिम्मेवारी बोध गरेर काम गर्न समेत आग्रह गरेका छन् ।
नेपाली कांग्रेसका नेता महेन्द्र यादवले पनि प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतसँग सबै जिल्लामा कोरोना भाइरस रोक्नका लागि उचित व्यवस्था गर्न माग गरेका छन् ।
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले शुक्रवार उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाएर कोरोना भाइरसको संक्रमणविरुद्ध तीब्रगतिमा काम गर्न तथा चिकित्सकलाई आवश्यक पर्ने बन्दोबस्तीका सामान उपलब्ध गराउन माग गरेका थिए ।
लकडाउनका कारण अतिनिम्न वर्गलाई दैनिक गुजारा चलाउन समस्या परेको भन्दै कांग्रेसले जनतालाई राहतका कार्यक्रम ल्याउन दबाब दिँदै आएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।