काठमाडौं– नेपाली कांग्रेसले कोरोना भाइरससँग जुध्न सरकारलाई १७ बुँदे ज्ञापन पत्र बुझाएको छ। शुक्रबार कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले उपप्रधान तथा रक्षा मन्त्री एवं संयोजक, नोभल कोराना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेललाई ज्ञापन पत्र बुझाएका हुन्।
ज्ञापन पत्रमा के छ ?
१. विश्वमा फैलेको कोराना महामारी मानव सभ्यताको लागि शताब्दी कै ठूलो चुनौतीको रुपमा आइरहेको छ । यसको नियन्त्रणका लागि सरकार ज्यादै गम्भीर, संवेदनशील, दृढ र गतिशील हुनु जरुरी छ ।
२. सबै आम नागरिकले कोरोना नियन्त्रणका लागि सजकता र धौर्यता अपनाउनु आवश्यकता छ ।
३. कोरोना नियन्त्रणका लागि अग्रपंक्तिमा रहेका चिकित्सक, नर्स, स्वस्थ्यकर्मीप्रति राज्य र आम नागरिकको पूर्ण साथ र सहयोग जरुरी छ ।
४. नेपाल सरकारले यस सन्दर्भमा आवश्यक चिकित्सा र स्वास्थ्य उपकरण, परीक्षण किट तथा सामग्रीको व्यवस्था गर्न नसक्नु सरकारको अकर्मण्यता हो । यो ज्यादै जोखिमपूर्ण रहेको छ ।
५.नेपाल सरकारले कोरोना नियन्त्रण सम्बन्धी चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको लागि आवश्यक पिपिई (पर्सनल प्रोटेक्सन इक्युपमेन्ट) लगायत चिकित्सा र स्वास्थ्य उपकरण, परीक्षण किट तथा अन्य सामाग्री विदेशबाट अबिलम्ब आयात गर्न अत्यावश्यक छ ।
६.कोरोना महामारी फैलन नदिन लकडाउन (राष्ट्रव्यापी बन्द) अत्यावश्यक कार्य हो । लकडाउनलाई सफल बनाउन सुरक्षा निकाय र प्रशासनलाई सहयोग पु¥याउनु सबै नागरिकहरुको दात्यिव हो ।
७. यो महामारीलाई नियन्त्रण गर्न केन्द्रीय सरकारले प्रदेश सरकार र स्थानीय पालिकाहरुलाई समन्वयात्मक रुपमा अझै गतिशिल ढंगले परिचालन गर्न आवश्यक छ ।
८. सातै प्रदेशमा कोरोना परीक्षण प्रयोगशाला यथाशीघ्र सञ्चालन गर्न जरुरी छ ।
९.यसका साथै सबै प्रदेश र स्थानीय तहका स्वास्थ्य संस्थासम्म स्वास्थ्य उपकरण र सामग्रीको तत्काल प्रबन्ध गर्न अत्यावश्यक छ ।
१०.कोरोना नियन्त्रणका लागि सामाजिक र निजी संघ÷संस्थाले चिकित्सा र स्वास्थ्य उपकरण तथा सामग्रीको व्यवस्थाको लागि गरिरहेको पहललाई सकारात्मक रुपमा लिई सरकारले यसका लागि प्रोत्साहन गर्न र सहयोग पु¥याउन आवश्यक छ ।
११.लकडाउनका कारणले दैनिक ज्यालादारी गर्दै जीवनयापन गरिरहेका श्रमिक, कृषि मजदुरलाई खाद्यान्नको व्यवस्था गर्न स्थानीय निकाय, व्यवसायीक र सामाजिक संघसंस्था तथा राजनैतिकर्मीहरुले समन्वय गरी गतिशिल भूमिका निर्वाह गर्न अत्यावश्यक भइसकेको छ ।
१२.छिमेकी मित्रराष्ट्र भारतमा समेत लकडाउन भइरहेको अवस्थामा यात्राको क्रममा भारतमा विचल्लि परेका नेपालीहरुको उद्दार र रक्षाका लागि सरकारी निकाय गम्भीर बन्न जरुरी छ ।
१३. संसार भरी छरिएर रहेका नेपालीहरुको स्वास्थ्य र सुरक्षाको लागि हाम्रा कुटनीतिक निकायहरुले सक्रियता बढाउनु आवश्यक छ ।
१४. यो महामारीको नियन्त्रण गर्न रातदिन खटी रहेका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरु धन्यवादका पात्र छन् । यस्तै अहोरात्र खटिरहेका सुरक्षाकर्मी, प्रशासन र स्थानीय जनप्रतिनिधिहरुको मनोवल बढाउन सरकार र जनस्तरबाट साथ दिन जरुरी छ ।
१५. कोरोना नियन्त्रणका लागि नेपाल सरकारले सम्पूर्ण शक्ति केन्द्रीकृत गरेर लगाउन र अन्तर्राष्ट्रिय सहयोग तत्काल जुटाउन अपरिहार्य छ ।
१६. कोराना महामारी नियन्त्रणका लागि सरकारले नेपाल भरी नै लकडाउन गरिरहेको बेलामा दीर्घ रोगी तथा नियमित रुपमा चिकित्सकको परामर्शमा औषधि सेवन गरिरहेका विरामीहरु तथा अन्य रोगका विारमीहरुलाई उपाचारको आवश्यक प्रबन्ध गर्न जरुरी छ ।
१७. दैनिक उपभोग्य खाद्य पदार्थ आपूर्तिको व्यवस्था गर्न एवं फोहोर व्यवस्थापन गर्न सम्बन्धित सरकारी निकायले बेलमा ध्यान पुर्याउनु जरुरी छ ।
यस्तै कांग्रेसले सरकारले कोरोना भाइरस नियन्त्रण सम्बन्धी काम भोली हैन आजै गर्न जरुरी रहेको बताएको छ। ‘सबै नेपाली जनताले धौर्यता, सम्यमता र सहजकता अपनाउन जरुरी छ ।
विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस नियन्त्रणका लागि नेपाल सरकारलाई हाम्रो पूर्ण साथ एवं सहयोग छ र सरकारले तत्काल उपरोक्त विषयमा गम्भीरतापूर्वक ध्यान दिएर उपयुक्त कदम चाल्नका लागि ध्यानाकर्षण गराउँद छौं,’ ज्ञापन पत्रमा भनिएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।