काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै लामो दूरीका सवारीसाधन चल्न नपाउने घोषणा आजदेखि लागू भएको छ ।
प्रधानमन्त्री ओलीको घोषणा अनुसार आजदेखि एक जिल्लाबाट अर्को जिल्लामा सार्वजनिक यातायातका साधन सञ्चालन हुन पाउने छैनन् ।
कोरोना भाइरसको त्रास बढेसँगै सरकारले सावधानी अपनाउन सवारीसाधन बन्द गर्ने निर्णय लिएको छ । सरकारी प्रावधान अनुसार लामो दूरी भन्नाले २५० किलोमिटरभन्दा टाढालाई मानिन्छ । ‘२५० किमि कानूनी रूपमा लामो दूरी हो,’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले भने, ‘हामीले भन्न खोजेको शहरभित्र चल्न पाउनेछन्, शहरबाट बाहिर जान भने पाउने छैनन् ।’
शहरभित्र चल्ने सार्वजनिक साधनमा भने अवरोध हुने छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले शनिवार साँझ सूचना जारी गर्दै घर फर्कन चाहनेले रोक लगाउनुअघि नै प्रबन्ध गर्न आग्रह गरेको थियो । ‘सरकारको यो निर्णय स्वागतयोग्य छ,’ यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भनेका छन्, ‘अहिलेको अवस्थामा रोगबाट जोगिन सबैले स्वास्थ्य सतर्कता अपनाउन जरुरी रहेको छ ।’
बुधवारसम्मको टिकट बूक भएपनि सोमवारबाट लामो दूरीका सवारी बन्द हुने भएपछि यात्रुले आइतवार टिकट सारेर घर फर्किएका छन् । केही यात्रुले भने टिकट नपाएपछि घर जान नपाएको गुनासो समेत गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।