काठमाडौं – सुदूरपश्चिम प्रदेश सरकारकी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयकी मन्त्री माया भट्टले मन्त्रालयका सचिव डा. दीपककुमार खरालसँग अस्वाभाविक कर्तुत गरेको पाइएको छ ।
कम्युनिस्ट मन्त्री भट्टले आफूले भने अनुसार काम नगरेको भन्दै सचिव खराललाई ज्यान मार्नेसम्मको धम्की दिएकी छन् ।
मन्त्रीले नै ज्यान मार्र्ने धम्की दिएपछि आफू असुरक्षित भएको भन्दै सचिव खरालले सुरक्षाको माग गर्दै प्रदेशका प्रमुख सचिवलाई निवेदन बुझाएका छन् ।
मन्त्रालयका हरेक निर्णयमा मन्त्री भट्टले नीति नियम मिचेर काम गर्ने गरेको र आफूलाई समेत दबाब दिने गरेको बताउँदै सचिव खरालले भनेका छन्, ‘मैले नीति नियममै रहेर काम गर्नभन्दा मन्त्रीज्यूले नै पेलेर काम गर्दै आउनुभएको थियो ।’
गलत काम नगर्ने भनेर अडान लिँदा मन्त्री भट्टले कार्यकक्षमा बोलाएर दुर्व्यवहार गर्दै ज्यान मार्ने धम्की दिएको खनालको गुनासो छ । ‘मलाई मन्त्रीज्यूले कार्यकक्षमा बोलाएर औंला ठड्याएरै जुनसुकै बेला जे पनि हुनसक्छ भन्दै धम्क्याउनुभयो,’ उनले भने ।
मन्त्रीले धम्की दिएपछि ज्यानको असुरक्षा बढेको भन्दै आफूले प्रमुख सचिवसमक्ष सुरक्षाको माग गर्दै निवेदन दिएको समेत खनालले बताए । ‘मैले प्रमुख सचिव समक्ष निवेदन पेश गरेको छु,’ खनालले भने, ‘त्यसको बोधार्थ प्रमुख जिल्ला अधिकारीलाई पनि दिएको छु ।’
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले वन मन्त्रालयका सचिव खरालले जिल्ला प्रशासन कार्यालयमा असुरक्षा बढेको भन्दै बोधार्थ पत्र पठाएको पुष्टि गरे ।
कसरी बढ्यो विवाद ?
मन्त्रालयको छलफल तथा बैठकमा मन्त्री भट्टका नजिक मानिएका परमानन्द भट्ट सहभागी हुने गरेका थिए । मन्त्री, स्वकीय सचिव र मन्त्रालयका सचिव तथा कर्मचारी बसेर छलफल गर्दै गर्दा परमानन्द भट्ट बीच–बीचमा बोल्दै सचिवलाई आफू अनुकूलको काम गर्न निर्देशन दिने गर्दथे । १–२ पटकको बैठक तथा छलफलमा सचिवले केही नबोले पनि पटक–पटकको बैठकमा परमानन्द भट्टले सचिवलाई निर्देशन दिन थालेपछि सचिव खनालले ‘तपाईं को हो ?’ भनेर प्रश्न गरे । त्यत्तिकैमा मन्त्री भट्टले उनी आफ्नो सल्लाहकार भएको दाबी गरिन् ।
परमानन्द भट्टलाई मन्त्री भट्टले आधिकारिक रुपमा कुनै सल्लाहकारको नियुक्ति दिएकी छैनन् । त्यसपछि सल्लाहकारको प्रमाण के छ भनेर सचिव खरालले सोध्दा मन्त्री भट्ट नाजवाफ बनेकी थिइन् । त्यसपछि परमानन्द भट्ट, मन्त्री भट्ट, उनका निजी सचिव शेरबहादुर चन्द र अर्का स्वकीय सचिव मन्त्री भट्टकै छोराको आकस्मिक बैठक बसेर सचिव खनालको सरुवा गराउने विषयमा छलफल भएको स्रोतले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।