काठमाडौं – नेपाली सेनाले सर्वसाधारण नेपालीले जानकारी र सूचना लिन सकिने गरी २ वटा फोन नम्बर सार्वजनिक गरेको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमार्फत सूचना लिन सकिने गरी सेनाले सम्पर्क नम्बर ९८५१०८३२८८ र ९८५१०७९९१७ लाई सर्वसाधारणका लागि खुला गरेको छ ।
कोरोना भाइरसको रोकथामका लागि सेनाले गरिरहेका गतिविधिसँगै भ्रम सिर्जना हुन थालेपछि सेनाले फोन नम्बर सार्वजनिक गरेको हो । सेनाद्वारा शनिबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ, ‘कोरोना भाइरस (कोभिड–१९) प्रतिकार्यमा नेपाली सेनाको गतिविधि सम्बन्धमा आम जनमानसमा कुनै द्विविधा भएमा नेपाली सेनाको श्री जनसम्पर्क तथा सूचना निर्देशनालयको सम्पर्क नम्बर ९८५१०८३२८८ र ९८५१०७९९१७ मा सम्पर्क गर्न हुन समेत हार्दिक अनुरोध गरिन्छ ।’
सेनाले ‘नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी आकाशबाट कोरोना भाइरस (कोभिड–१९) विरुद्ध किटनासक औषधि छोडिने’ समाचारप्रति ध्यानाकर्षण भएको बताउँदै त्यो सूचना भ्रामक भएको जनाएको छ ।
हेर्नुस् सेनाको विज्ञप्ति –
नेपाली सेनाको ध्यानाकर्षण
१. विभिन्न सामाजिक सञ्जालहरूमा ‘नेपाली सेनाको हेलिकप्टर प्रयोग गरि आकाशबाट कोरोना भाईरस (कोभिड(१९) विरुद्ध किटनासक औषधी छोडिने’ भन्ने समाचार प्रति नेपाली सेनाको गम्भीर ध्यानाकर्षण भएको छ ।
२. हाल विश्वभर फैलिँदै गएको कोरोना भाईरस (कोभिड–१९) को उच्च जोखिमलाई मध्यनजर राखि नेपाली सेनाले आन्तरिक रुपमा उक्त भाईरसको रोकथाम तथा संभावित महामारी विरुद्ध न्युनिकरण तथा प्रभावकारी व्यवस्थापनको लागि आवश्यक तयारी शुरु गरेको तथ्य प्रेस विज्ञप्तिमार्फत जानकारी गराईएको सर्वविदितै छ । यसको अलावा नेपाली सेनाले हेलिकप्टर प्रयोग गरि किटनासक औषधी छाड्ने कुनै योजना नभएको जानकारी गराइन्छ । तसर्थः हालको संवेदनशिल घडीमा यस प्रकारको भ्रामक, झूटो तथा मनगढन्ते समाचारमा विश्वास नगर्न नेपाली सेना सम्पूर्ण पाठक वर्गहरुमा हार्दिक अनुरोध गर्दछ । कोरोना भाईरस (कोभिड–१९) प्रतिकार्यमा नेपाली सेनाको गतिविधि सम्बन्धमा आम जनमानसमा कुनै दुविधा भएमा नेपाली सेनाको श्री जनसम्पर्क तथा सूचना निर्देशनालयको सम्पर्क नम्बर ९८५१०८३२८८ र ९८५१०७९९१७ मा सम्पर्क गर्न हुन समेत हार्दिक अनुरोध गरिन्छ ।
३. नेपाली सेनाले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध आवश्यक आन्तरिक तयारी गरी संक्रमणबाट सुरक्षित रहँदै रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारलाई पूर्ण रुपमा सहयोग गर्ने र उक्त भाईरसको उच्च जोखिमविरुद्ध बचाउ तथा रोकथामका लागि उपलब्ध सबै उपायहरू अवलम्बन गर्न सधैं प्रतिवद्ध रहेको जानकारी गराइन्छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।