धरान - नेपाली कांग्रेसले जितेको धरान उपमहानगरपालिकामा मेयर तिलक राईलाई साथ दिन नयाँ प्रमुख प्रशासकीय अधिकृत विदुरप्रसाद खनाल आएका छन् ।
झण्डै दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले खनाललाई धरानमा प्रमुख प्रशासकीय प्रमुखको जिम्मेवारी दिएर पठाएको हो ।
खनाल उपसचिवबाट हालै मात्रै सहसचिवमा बढुवा भएका हुन् । खनालले सोमबारदेखि नै धरान उपमहानगरपालिकाको जिम्मेवारी सम्हालिसकेका छन् । यसअघि धरानमा उपसचिव विनोद पोखरेल निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत थिए ।
सहसचिव सुमन घिमिरे जनप्रतिनिधि र विगतको स्थानीय निकाय (धरान)का कर्मचारीहरूसँगको मतभेदपछि मन्त्रालयमा तानिएका थिए । घिमिरे मन्त्रालयमा तानिएपछि पोखरेलले निमित्त प्रमुख भएर धरानको जिम्मेवारी सम्हालेका थिए ।
धरान उपमहानगरपालिकाको कार्यपालिका र नगरसभामा नेकपाको दुईतिहाईको बहुमत छ । उपनिर्वाचनबाट मेयरमा कांग्रेसले जितेको छ ।
कम्युनिस्टहरूको बहुमत रहेको र काम गर्न समस्या हुनेभन्दै सहसचिव र निजामती कर्मचारीहरू धरान उपमहानगरपालिकामा आउन रुचाउँदैनन् । प्रमुख प्रशासकीय अधिकृत खनालले आफू भर्खर धरान आएकाले बुझ्ने क्रममा रहेको बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।