काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरसको संक्रमण नेपाल भित्रिन सक्ने खतरा औंल्याउँदै प्रभावकारी बन्दोबस्तीका लागि सरकारलाई गम्भीर भएर कार्य गर्न अपिल गरेका छन् ।
सभापति देउवाले एक प्रेस विज्ञप्तिमार्फत सीमा नाकामा प्रभावकारी र भरपर्दो कडाई हुन नसक्दा कुनै पनि समय संक्रमण नेपाल भित्रिन सक्ने खतरा औंल्याए ।
कोरोना भाइरसले विश्वव्यापी रूपमा महामारीको रुप लिइसकेको स्थितिमा नेपालले अपनाउनुपर्ने सतर्कताबारे सबै गम्भीर हुनुपर्नेमा उनले जोड दिएका छन् ।
कोरोनाको जोखिम सामना गर्न सरकारलाई सघाउन साथ रहने घोषणा गरिसकेको स्मरण गराउँदै सभापति देउवाले युद्धस्तरमा कार्य गर्न सरकारलाई आग्रह गरेका छन् । उनले सम्भावित जोखिम सामनाका लागि दक्ष जनशक्ति तयार राख्न, जरुरी उपकरणदेखि आइसोलेसन वार्ड, वैकल्पिक क्वारेन्टाइन तथा आईसीयूसम्मको अभाव हुन नदिन सरकारले युद्धस्तरमा कार्य गर्नुपर्ने औंल्याएका छन् ।
पर्यटन क्षेत्र प्रत्यक्ष मारमा परेको र कतिपय उद्योग र अन्य व्यावसायिक क्षेत्र संक्रमण पूर्वको असर भोगिरहेको बताउँदै सभापति देउवाले समग्र निजी क्षेत्रको मनोबल उच्च राख्न बैंक कर्जाको ब्याजदर घटाउन तथा ऋण चुक्ताको समयावधि थप्न जरुरी रहेको समेत बताएका छन् ।
सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने स्थिति आएमा विशेष गरी गरीबीको रेखामुनि रहेका, न्यून आय भएका नागरिक एवं दैनिक ज्यालादारीबाट जीवन गुजारा गरिरहेकालाई अत्यन्तै कष्टकर अवस्था बन्ने बताउँदै उनले त्यस्ता व्यक्तिका लागि राहतको योजना ल्याउन सरकारसँग माग समेत गरेका छन् ।
विद्यार्थीको शैक्षिक भविष्यलाई असर नपर्ने गरी जोखिमबाट विद्यार्थीलाई जोगाउन आवश्यक निर्णय र सतर्कताका लागि सरकारको ध्यानाकर्षण गराउँदै सभापति देउवाले स्वदेश र विदेशमा रहेका समस्त नेपालीलाई कोरोनाबाट सतर्क रहन र एक भएर यसको सामना गर्न अपिल समेत गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।