काठमाडौं – संसारभर फैलिएको कोरोना भाइरसको त्रास बढ्दै गइरहेका बेला सरकारले काठमाडौंमा प्रदेशका सबै मुख्यमन्त्री र मन्त्रीसहित आकस्मिक बैठक बोलाएको छ ।
आईतबार दिउँसो १ बजे सिंहदरबारमा आयोजना गरिएको बैठकमा सबै मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीको सहभागिता रहने छ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको नेतृत्वमा हुने बैठकका लागि मुख्यमन्त्रीहरूलाई काठमाडौं बोलाइएको छ ।
बैठकमा कोरोनाबाट बच्न प्रदेश सरकारले गरेका कामको प्रगति र नयाँ रणनीतिबारे छलफल हुने जनाइएको छ । संघीय सरकारले गरिरहेको काम सम्बन्धी विवरण स्वास्थ्य मन्त्रालयले बैठकमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
दक्षिणी छिमेकी भारतमा एकपछि अर्काे कोरोना भाइरसका संक्रमित देखिन थालेपछि नेपालमा समेत त्रास बढ्दै गएको छ । भारत सरकारले विभिन्न प्रदेशमा विद्यालय समेत बन्द गराएको छ ।
चीनको वुहानमा पहिलो पटक देखिएको कोरोना भाइरसका कारण ५ हजार ८३९ जनाको मृत्यु भइसकेको छ भने १५२ देशमा पुगेको कोरोनाको संक्रमण १ लाख ५६ हजार ७६६ जनामा देखिएको छ ।
पछिल्लो तथ्यांक अनुसार विश्वभर ७४ हजार ९९० जना कोरोना संक्रमित रहेका छन् । जसमध्ये ५ हजार ६५२ जना गम्भीर बिरामी रहेका छन् । संक्रमित भएकामध्ये ७६ हजार निको भइसकेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।