काठमाडौं – भारत सरकारले कोरोना भाइरसबाट बच्नका लागि सुरक्षा उपाय अपनाउँदा नेपाल–भारत सीमा नाका बन्द हुने हल्ला फैलिएपछि काठमाडौंस्थित भारतीय दूतावासले प्रेस विज्ञप्ति जारी गरेको छ ।
भारत सरकारले कोरोनाको संक्रमण फैलिन नदिन सुरक्षा उपाय अपनाएको जानकारी दिँदै भारतीय दूतावासले भारत सरकारले हालसम्म गरेका निर्णयले नेपाल–भारत सीमा नाकाको आवतजावतमा कुनै असर नगर्ने जानकारी दिएको छ ।
‘भारत सरकारका वर्तमान उपायहरू केवल सार्वजनिक स्वास्थ्य र सुरक्षाको प्रबन्धको उद्देश्यका लागि हो । यी उपायहरूले हाल नेपाली नागरिकहरूको भारतको यात्रामा कुनै असर पार्दैन,’ दूतावासको विज्ञप्तिमा उल्लेख छ, ‘नेपाली नागरिकहरूको लागि विद्यमान यात्राको व्यवस्था अप्रभावित नै रहनेछ ।’
कोरोना भाइरसको संक्रमण देखिएका वा हालसालै तेस्रो मुलुकबाट आएका नागरिकमा भने स्वास्थ्य परीक्षणमा कडाइ हुने दूतावासले स्पष्ट पारेको छ ।
‘यद्यपि, सबै जाँच बिन्दुहरूमा भारतीय, नेपाली वा तेस्रो देशबाट आएका भाइरसको लक्षणहरू वा हालको सातवटा कोरोना प्रकोप देशहरूमध्ये कुनैमा हालसालै यात्राको गरेको भएमा स्वास्थ्य परीक्षणमा कडाइ हुनेछ,’ विज्ञप्तिमा उल्लेख छ, ‘सम्भवत क्वारेन्टाइनमा बस्नुपर्ने हुनसक्छ, यदि आवश्यक छ भने ।’
कोरोनाको संक्रमण फैलिन नदिन भारत सरकारले बिहीबार रातिदेखि लागू हुने गरी केही कडा कदम चालेको छ । सार्वजनिक स्वास्थ्य र सुरक्षामा वर्तमान विश्वव्यापी प्रसारको असरलाई ध्यानमा राख्दै विदेशबाट आएका विदेशी र भारतीय नागरिकको लागि केही स्वास्थ्य सुरक्षा उपायहरू कार्यान्वयन गर्ने घोषणा गरेको छ ।
भारत सरकारले सुरक्षाका उपाय अपनाउँदा नेपाल–भारत सीमामा पनि असर पर्ने प्रचार भएपछि दूतावासले नेपालीलाई कुनै असर नगर्ने स्पष्ट पारेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।