काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई बाइपास गरेर कम्युनिस्टले एकलौटी कब्जा गर्न खोजेपछि गण्डकी प्रदेशसभा संसद बैठकमा हंगामा मच्चिएको छ ।
संसद सचिवालयसम्बन्धी विधेयकका केही प्रावधानलाई लिएर कांग्रेसले संसद अवरुद्ध नै गरेको छ ।
सत्तारुढ नेकपाले एकलौटी गर्ने गरी विधेयक अगाडि बढाएपछि कांग्रेसले प्रदेशसभा सचिवालयमा भागबण्डा खोजेको छ । संसदमा विचाराधीन रहेको ‘प्रदेशसभा सचिवालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मार्फत राजनीतिक रुपमा सचिव नियुक्त हुने व्यवस्था छ ।
सचिव नियुक्तिमा असन्ुतष्टि नरहेपनि सचिवालय व्यवस्थापनमा अरु दललाई पनि भागबण्डा मिलाउनुपर्ने माग कांग्रेसले राखेको छ । मागको सहज सुनुवाइ हुने सुनिश्चित नभएपछि बुधवारको संसद बैठक नै कांग्रेसले अवरुद्ध गरेको छ ।
लामो समयदेखि निमित्त सचिवका भरमा चलिरहेको प्रदेशसभा सचिवालयमा राजनीतिक रुपमा सचिव नियुक्ति गर्ने र सचिवालयको व्यवस्थापन गर्ने नीतिसहित २० महिनापछि विधेयक संसदमा पुगेको छ । सभामुख, उपसभामुखपछि प्रदेशसभामा प्रदेशसभा सचिवालयका सचिव सदस्य रहने विधेयकमा उल्लेख रहेको छ ।
विधेयकअनुसार सचिवले एक जना सदस्य सचिव तोक्नेछन् । विधेयकको दफा ५ मा उल्लेखित यही विषयप्रति असहमति जनाउँदै सबै दलका प्रमुख सचेतक, सचेतक वा दलले तोकेको प्रतिनिधि सदस्य रहने व्यवस्था गर्न २०७५ साउनमै कांग्रेसले संशोधन प्रस्ताव दर्ता गराएको छ ।
नेकपाले एकलौटी गरेर बहुमतको बलमा विधेयक अगाडि बढाएको भन्दै कांग्रेसले बुधवारको संसद बैठक अवरुद्ध गरेको छ । प्रदेशसभा र सचिवालयलाई सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धमा आवश्यक नीति निर्धारण, रेखदेख, नियन्त्रण र सुपरीवेक्षणका लागि सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको व्यवस्था गरिएको छ ।
नेपाली कांग्रेसले सचिवालयमा सबै दलको प्रतिनिधित्व हुनुपर्ने र नीति निर्माण गर्ने जिम्मा कर्मचारीलाई दिन नहुने स्पष्ट अडान राखेको छ । कांग्रेसले आफ्नो मत राख्दै संसद नै अवरुद्ध गरेपछि सभामुखमाथि संकट आइलागेको छ ।
प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक विधायन समितिले बहुमतले पारित गरेर बुधवारको बैठकमा पेश गर्ने कार्यसूची थियो । त्यसैलाई लक्षित गरेर कांग्रेसले तत्कालै संसद बैठक अवरुद्ध गरेको छ ।
‘प्रदेश सभालाई प्रभावकारी रुपमा अगाडि बढाउन समितिको जरुरत पर्छ । व्यवहारमा सभामुखको अध्यक्षतामा व्यवस्थापन समिति अहिले पनि छ । तर त्यसलाई मिचेर अहिले सचिवालय विधेयक ल्याइँदैछ,’ संसदमा दलको धारणा राख्दै कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले भने, ‘२ वर्षसम्म हामीले राखेको संशोधन प्रस्तावलाई बेवास्ता गरियो ।’
बुधवार कांग्रेसको अवरोधका कारण स्थगित भएको बैठक बिहीवार १ बजेका लागि आह्वान गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।