काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र सैद्धान्तिक र ठूल्ठूला कुरा गर्ने कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले अन्ततः कम्युनिस्ट पारा देखाएका छन् ।
कम्युनिस्ट मन्त्रीहरूले आसेपासेलाई नियुक्ति खुवाउने र कमिसनको चक्करमा चुर्लुम्म डुबिरहेका बेला मन्त्री भुसालले कुरा गरेजस्तै जनताका लागि केही काम गर्छन् कि भन्ने आशा गरिएको थियो । तर भुसालले समेत जनताका लागि कुनै विशेष कार्यक्रम घोषणा नगर्ने आसेपासेलाई नियुक्ति दिन सुरू गरेका छन् ।
मन्त्री भुसालले मन्त्रालय मातहतका विभिन्न ५ निकायका पदाधिकारी नियुक्त गरेका छन् । दुग्ध विकास संस्थान (डीडीसी), राष्ट्रिय दुग्ध विकास बोर्ड, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, कृषि सामग्री कम्पनी लिमिटेड र कपास विकास समितिमा मन्त्री भुसालले बुधवार अध्यक्ष, उपाध्यक्ष लगाययतका पदाधिकारी नियुक्त गरेका छन् ।
भुसालले डीडीसीको महाप्रबन्धकमा रुद्रप्रसाद पौडेल, राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकमा डा. राजेन्द्रप्रसाद यादवलाई नियुक्त गरेका छन् ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यकारी निर्देशकमा डा. विष्णुप्रसाद भट्टराई र उपाध्यक्षमा गोपालप्रसाद पोखरेललाई मन्त्री भुसालले नियुक्ति दिएका छन् ।
कृषि सामग्री कम्पनी लिमिटेडको महाप्रबन्धकमा नेत्रबहादुर भण्डारी र अध्यक्षमा शशीराज तुलाधर नियुक्त भएका छन् भने कपास विकास समितिको अध्यक्षमा रुद्रहरि ज्ञवालीलाई नियुक्त गरिएको छ ।
तराईको उखु किसानले भुक्तानी नपाएको भनेर काठमाडौंमा आन्दोलन गरिरहँदा मन्त्री भुसालले आफू अध्ययनमा रहेको अभिव्यक्ति दिएका थिए । लामो समय अध्ययनमै बिताएका मन्त्री भुसालले जनताका लागि केही काम नदेखाउँदै नियुक्तिमा लागेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।