काठमाडौं – नेपाली राजनीतिमा नेपाली कांग्रेस पार्टी आशाको केन्द्र बन्दै गइरहेका बेला पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा पुत्र तथा पूर्व मन्त्री सुनिलबहादुर थापा कांग्रेस प्रवेश गर्ने चर्चा चलेको छ ।
राप्रपा संयुक्तका प्रभावशाली नेता समेत रहेका थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) एकता घोषणा सभामा सहभागी भएनन् ।
पूर्वमन्त्री कमल थापा, पशुपति शम्शेर जबरा र प्रकाशचन्द लोहनीबीच पार्टी एकता भइरहँदा राप्रपाको ठूलो हिस्सा समेटेका थापा कार्यक्रममा सहभागी भएनन् । थापा कांग्रेस प्रवेश गर्न लागेको चर्चा राप्रपा र कांग्रेसभित्र चलेको छ ।
पूर्व मन्त्री थापा एकतापछि पार्टीले लिएको राजसंस्था पुनःस्थापनाको नीतिप्रति सहमति थिएनन् । उनले राजसंस्थाको नीतिप्रति असहमति जनाउँदै एकता बहिष्कार गरेका छन् भने कांग्रेसतिर कुरा चलाएका छन् ।
गणतन्त्र र संघीयतालाई स्वीकार गरिसकेको जनाउँदै थापाले राजतन्त्रको पक्षमा नउभिने अडान लिँदै राप्रपाबाट नीतिगत रुपमै अलग भएका छन् । गणतन्त्र नेपालको सरकारमा आफू मन्त्री भइसकेकाले अहिले राजतन्त्रको पक्षमा उभिनु नैतिक रुपमा ठीक नहुने तर्क थापाले गरेका थिए । उनी एकता घोषणा सभामा नदेखिएपछि उनको असहमति खुलासा भएको छ ।
धनकुटा जिल्लामा राजनीतिक थलो भएका थापा तत्कालीन संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । संविधान जारी गर्ने बेलाको कांग्रेस सभापति सुशील कोइराला नेतृत्वको तत्कालीन सरकारमा थापा वाणिज्य तथा आपूर्ति मन्त्री रहेका थिए । संविधानको नयाँ संरचना अनुसार निर्वाचन गराउने कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा समेत थापा उद्योग मन्त्री भइसकेका छन् ।
पूर्वमन्त्रीले कांग्रेस पार्टी प्रवेश गर्ने गरी नेतृत्वसँग छलफल चलाइसकेको स्रोतको दाबी छ । थापा कांग्रेस प्रवेश गर्दा आफ्नो राजनीतिक भविष्य र पदीय भागबण्डा सुरक्षित गर्न सबै पक्षसँग छलफल गरिरहेका जनाइएको छ ।
कांग्रेसका सबै पक्षसँग छलफल गरेर कांग्रेस महाधिवेशअघि नै थापा पार्टी प्रवेश गर्ने कांग्रेस स्रोतले जनाएको छ । थापाले बुवा स्व. सूर्यबहादुर थापादेखि बनेको एउटा पुरै समूहलाई कांग्रेसमा प्रवेश गराउने तयारी गरेका छन् ।
https://mediadabali.com/politics/114178/
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।