काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैला प्रत्यारोपणपछि उनी पूर्णतया चिकित्सकको निगरानीमा छन् ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र राजनीतिक विवाद चर्किरहेका बेला ओली मिर्गाैला प्रत्यारोपणमा गएका थिए । त्यसपछि नेकपाको विवाद सेलाएको देखिएको छ ।
सतहमा नदेखिएपनि नेकपा विवाद अझै चर्किने सम्भावना रहेको नेकपा स्रोतको दाबी छ । आईतबार चितवन पुगेका नेकपा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज भएपछि उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा सिफारिस गरिने बताए ।
नेकपा सचिवालय बैठकले गरेको निर्णय कार्यान्वयन हुनेमा आफू ढुक्क रहेको प्रचण्डले दाबी गरिरहँदा यसअघि ओलीले वामदेवलाई सिफारिस नगर्ने अडान लिएका थिए । अब नेकपाभित्रको राजनीति ओली डिस्चार्ज भएसँगै तात्ने देखिएको छ ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा रहेका प्रधानमन्त्री ओलीलाई भोलि मंगलबार वा पर्सी बुधबारसम्म डिस्चार्ज गर्ने चिकित्सकको तयारी रहेको छ । ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार आएपछि अस्पतालले उनलाई डिस्चार्ज गर्ने तयारी गरेको हो । ढिलामा पर्सीसम्म ओली डिस्चार्ज हुने मिर्गौला प्रत्यारोपण टोलीका प्रमुख डा. प्रेमराज ज्ञवालीले पत्रकारलाई संकेत गरेका छन् । फागुन २१ गते बुधबार ओलीको मिर्गौला प्रत्यारोपण भएको थियो ।
प्रधानमन्त्री ओलीलाई मिर्गौला दिएकी भाञ्जी समीक्षा संग्रौलाले एकसाथ डिस्चार्ज हुने इच्छा व्यक्त गरेकी छन् । दुवैको स्वास्थ्य ठीक रहेको र दुवैलाई एकैदिन डिस्चार्ज गरिने अस्पतालले जनाएको छ ।
अस्पतालमा रहेका बेला चिकित्सकले प्रधानमन्त्री ओलीको राजनीतिक सोधपुछ, छलफल, भेटवार्तालाई निषेध गरेका छन् । राजनीतिक कुराकानी र भेटघाट मानसिक रुपमा अप्ठ्यारो पार्न सक्ने सम्भावनाका कारण र आराम नहुने भएका कारण निषेध गरिएको अस्पताल स्रोतले जनाएको छ । प्रधानमन्त्री ओली हाल चिकित्सककै निर्देशक अनुसार चलिरहेका छन् ।
चिकित्सकको सुझावलाई प्रधानमन्त्री ओलीले मानेका कारण उनको स्वास्थ्यमा अपेक्षाकृत सुधार देखिएको जनाइएको छ । प्रधानमन्त्री ओली आफैंले एक हप्तामै बालुवाटार फर्किने गरी अस्पताल भर्ना भएका थिए । अघिल्लो सोमबार अस्पताल भर्ना भएका ओलीको बुधबार मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।