काठमाडौं – संसारभर त्रासको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न कैलालीको धनगढी उपमहानगरपालिकाले आईतबारदेखि सबै विद्यालय बन्द गर्ने भन्दै गरेको निर्णय शनिबार अकस्मात फिर्ता भएको छ ।
शुक्रबार सार्वजनिक गरिएको विद्यालयलाई अनिश्चितकालसम्म बन्द गर्ने निर्णय शनिबार फिर्ता लिँदै उपमहानगरले अर्काे सूचना जारी गरेको छ ।
उपमहानगरपालिकाले शिक्षासँग सरोकारवाला राख्ने व्यक्ति र संघसंस्थासँग बैठक गरेर विद्यालय बन्द गर्ने निर्णय लिएकोमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशन अनुसार कक्षा १–९ सम्मको वार्षिक परीक्षा चैत ५ गतेभित्र सक्नुपर्ने भएकाले विद्यालय र परीक्षा सञ्चालन गर्न शनिबार निर्देशन दिएको छ ।
शुक्रबारको सूचनालाई फिर्ता लिँदै धनगढी उपमहानगरले शनिबार अर्काे सूचना जारी गरेर यथाशीघ्र परीक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।
‘सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु यथावत रुपमा सञ्चालन गरी कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा यथाशीघ्र सञ्चालन गरी मिति २०७६ चैत ५ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने निर्णय भएकाले सो अनुसार गर्न गराउन हुन सम्बन्धित सबै सरोकारवालाहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको व्यहोरा अनुरोध छ,’ शनिवार जारी सूचनामा उल्लेख छ ।

शुक्रबार उपमहानगरले कोरोना संक्रमणबाट बच्न अर्काे सूचना जारी नभएसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।
विद्यालय बन्द गर्दा शैक्षिक सत्रको अन्त्यमा परीक्षा प्रभावित हुने चिन्ता व्यक्त भएपछि उपमहानगरले अनिश्चितकालीन बन्दको निर्णय फिर्ता लिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।