काठमाडौँ - ङादी जलविद्युत आयोजनामा काम गर्दै आएका चिनियाँ कामदार विदा सकेर परियोजनास्थलतर्फ फर्किन थालेपछि कोरोना भाइरस लाग्ने डरले लमजुङको मस्र्याङ्दी गाउँका स्थानीयहरु त्रसित बनेका छन् ।
चिनियाँ नयाँ वर्ष मनाउन चीन गई फर्केका कामदारका कारण गाउँमा कोरोना लाग्ने जोखिम बढ्न थालेको भन्दै गाउँलेहरु त्रसित बनेका हुन् । जलविद्युत परियोजनाका अनुसार त्यहाँ काम गर्ने ६१ चिनियाँ कामदारमध्ये ५८ जना विदा मनाउन स्वदेश गएकोमा ३८ जना चिनियाँ कामदार फर्किसकेका छन् ।
यता जिल्ला स्वास्थ्य कार्यालयले भने स्थानीयहरुलाई नआत्तिन आग्रह गरेको छ । विदा मनाउन गएका कामदारहरु कोरोना भाइरसबाट प्रभावित प्रान्तका नरहेको भन्दै जिल्ला स्वास्थ्य कार्यालयले स्थानीयहरुलाई नआत्तिन आग्रह गरेको हो ।
‘नेपाल फर्किने हरेक चिनियाँको विमानस्थलमा स्वास्थ्य परीक्षण हुन्छ, त्यसैले डराउनुपर्ने अवस्था छैन ।’ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अमर दवाडीले भने । उनका अनुसार चिनियाँ कामदारलाई चैत २ गतेसम्म काम नगर्न बताइएको छ ।
कोरोनाको जोखिम बढिरहेको अवस्थामा परियोजना निर्माण क्षेत्रमा यसबारे जनचेताना जगाउने कार्यक्रम थालिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला सामुदायिक अस्पताल, मस्याङ्दी गाउँपालिका र जलविद्युत परियोजनाका प्रतिनिधिहरु परियोजना क्षेत्र नजिकका बस्तीमा पुगी कोरोना भाइरसको लक्षण, बच्ने उपायबारे जानकारी दिइरहेको जिल्ला सामुदायिक अस्पतालका मेडिकल अफिसर वीरबहादुर स्याङतानले बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।