काठमाडौं – नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनय मोहन क्वात्रा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहोदाको प्रमाणपत्र पेश गरेपछि एक्सनमा उत्रिएका छन् ।
कार्यभार सम्हालेको भोलिपल्टै शुक्रबार राजदूत क्वात्राले राजकीय भेटवार्तालाई बाक्लो पारेका छन् । ओहोदाको प्रमाणपत्र बुझाउँदा समेत राजदूत क्वात्रा अन्य राजदूतभन्दा फरक ढंगले शीतल निवास पुगेपछि सबै छक्क परेका थिए ।
काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासबाट क्वात्रा बग्गी चढेर शीतल निवास पुगेर बग्गीमै दूतावास फर्किएका थिए । यसरी उनले छुट्टै पहिचान बनाएका थिए भने उनलाई बग्गीमा देख्नेहरू छक्क परेका थिए ।
बिहीबारै क्वात्राले उपराष्ट्रपति नन्दबहादुर पुनसँग पनि भेटघाट गरेका थिए । काठमाडौंमा उनको सक्रियता तीब्रताका साथ बढेको छ । उपराष्ट्रपति पुनसँग भेटवार्तापछि उनले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग भेटेका थिए । त्यसपछि क्वात्राले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग सिंहदरबारमा भेटवार्ता गरे ।
बिहीबार तीब्रताका साथ देखिएको राजदूत क्वात्राको सक्रियता शुक्रबार समेत देखियो । शुक्रबार बिहानै राजदूत क्वात्रा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विदेश विभाग प्रमुख तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । नेकपा वरिष्ठ नेता समेत रहेका नेपालको जन्मदिनका दिन क्वात्रा फूलगुच्छा बोकेर कोटेश्वर पुगेका थिए ।
राजदूत क्वात्रा शुक्रबारै सिंहदरबार छिरेर ऊर्जामन्त्री वर्षमान पुनसँग समेत भेट गरे । भेटमा भारतीय लगानी रहेका जलविद्युत् आयोजनाको विषयमा छलफल भएको मन्त्री पुनको सचिवालयले जनाएको छ ।
राजदूत क्वात्राले शुक्रबार नै प्रतिपक्षी दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग समेत भेटवार्ता गरेका छन् । देउवाले ट्विटमा लेखेका छन्, ‘नेपालमा सफल कार्यकालको शुभकामना दिएँ, नयाँ राजदूतको कार्यकालमा नेपाल–भारत सम्बन्धले नयाँ उचाइ लिने विश्वास व्यक्त गरेको छु ।’
शुक्रबार साँझ क्वात्राले राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनालाई समेत भेट गरेका छन् । क्वात्रा राजदूतको कार्यभार सम्हालेलगत्तैदेखि काठमाडौंमा सक्रिय भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।