काठमाडौं – विभिन्न स्थानीय तहको नेतृत्वमा निर्वाचित भएका कम्युनिस्ट नेताहरूले घुसखोरी मच्चाइरहेको बेला जाजरकोटको जुनीचाँदे गाउँपालिकाको नेतृत्वमा रहेका अध्यक्षविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
पूर्व माओवादी पार्टीबाट जितेका गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसी र गाउँपालिकाको वडा नम्बर ५ का वडाध्यक्ष राजबहादुर शाहीविरुद्ध अख्तियारले जनही २५ लाख ५० हजार गरी ५१ लाख रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
गाउँपालिकाको बजेटबाट निर्माण भएको सडकको भुक्तानीका क्रममा ठेकेदार तथा उपभोक्ता समितिका पदाधिकारीसँग घुस लिएको पाइएपछि अख्तियारले दुवै जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
गाउँपालिका अध्यक्ष केसी र वडाध्यक्ष शाहीले ठेकेदार तथा उपभोक्ता समितिका पदाधिकारीलाई डरधम्की देखाएर विभिन्न मितिमा गरी २५ लाख ५० हजार रुपैयाँ घुस लिएको अख्तियारको अनुसन्धानबाट फेला परेको छ ।
अख्तियारले मुद्दा दायर गरेसँगै सार्वजनिक पदबाट निलम्बित हुने प्रावधान अनुसार अध्यक्ष केसी समेत गाउँपालिका अध्यक्ष पदबाट स्वतः निलम्बित भएका छन् ।
अख्तियारले दुवै जनाविरुद्ध बिगो अनुसार जरिवाना र ६ वर्षसम्म कैद सजाय मागदाबी गरेको छ । गाउँपालिका अध्यक्ष केसीलाई अख्तियारको सुर्खेतस्थित कार्यालयको टोलीले ८ लाख रुपैयाँ घुस रकमसहित नियन्त्रणमा समेत लिएको थियो ।
सुर्खेतबाट ८ लाख रुपैयाँ घुससहित पक्राउ परेका गाउँपालिका अध्यक्ष केसीले जनता आधारभूत विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर बस्नेतसँगको मिलेमतोमा घुस संकलन गरेको अख्तियारले जनाएको छ ।
अख्तियारले गाउँपालिका अध्यक्ष केसी र प्रधानाध्यापक बस्नेतविरुद्ध ८ लाख रुपैयाँ बिगो कायम गर्दै बिगोअनुसार जरिवाना र २ वर्ष ६ महिनासम्म कैद सजाय मागदाबी समेत गरेको छ । गाउँपालिका अध्यक्षले दोहोरो मुद्दाको सामना गर्नुपर्ने भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।