काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आशिर्वाद पाएपछि डा. युवराज खतिवडा नयाँ संविधान बनेपछि सांसद नबनी मन्त्री बन्ने पहिलो नेपाली बनेका छन् ।
संघीय सांसद नभएको व्यक्ति पनि मन्त्री बन्न पाउने संवैधानिक प्रावधानलाई प्रधानमन्त्री ओलीले खतिवडामा लागू गरेका छन् । राष्ट्रियसभा सदस्यको २ वर्षे पदावधि पूरा भएपछि राजीनामा दिएका खतिवडा अब ओली मन्त्रिपरिषद्मा सांसद नभएका एक्ला मन्त्री बनेका छन् ।
पुनः अर्थमन्त्री नियुक्त भएका खतिवडाले पदभार ग्रहणपछि आफू प्रधानमन्त्री ओलीको लडाकु भएको जनाएका छन् । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पदबहाली गर्दै मन्त्री खतिवडाले युद्ध नजितेरै मैदानबाट फर्किने चाहना नभएको बताएका छन् । उनले आफ्नो लक्ष्यलाई युद्ध, ओलीलाई कमाण्डर र आफूलाई लडाकुको संज्ञा दिएका छन् ।
‘म विकास र सामाजिक न्यायको लडाकु हुँ । लडाकुका रुपमा कमाण्डरले फिर्ता नबोलाएसम्म युद्ध मैदान छाड्ने कुरा हुँदैन,’ उनले पत्रकारसँग भने, ‘एउटा योद्धा लडाइँमा त्यस बेलासम्म लडिरहन्छ, जुन बेलासम्म कमाण्डरले मैदानबाट फिर्ता लादैन । युद्ध नजिती मैदानबाट फर्किने मेरो चाहना छैन ।’
खतिवडाले देशमा रहेको रोग, भोक, अन्याय, गरीबी र अभावसँग लडिरहेको बताए । ‘मुलुकको गरीबी अन्त्य नभएसम्म युद्ध चलिरहन्छ,’ उनले भने, ‘तर त्यसको समयसीमा हुँदैन । यसलाई पराजित नगरेसम्म मैदानबाट हट्नु हुँदैन ।’
ओलीले खतिवडालाई पुनः राष्ट्रियसभा सदस्यमा मनोनित गर्न चाहेपनि नेकपा सचिवालयले उपाध्यक्ष वामदेव गौतमलाई सिफारिश गर्ने निर्णय गरेपछि ओली अप्ठ्यारोमा परेका छन् । अप्ठ्यारो अवस्थाका बाबजुद ओलीले विशेष अधिकार प्रयोग गर्दै सांसद नभएका खतिवडालाई पुनः मन्त्री बनाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।