बिर्तामोड – नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले संविधान संशोधनजस्तो गम्भीर विषयलाई कम्युनिस्ट पार्टीको आन्तरिक झगडा मिलाउने प्रयोजनमा संशोधन गरेर दुरुपयोग नगर्न चेतावनी दिएका छन् ।
नेपाली कांग्रेस झापा क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनलाई बिर्तामोडमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेता सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई इङ्गित गर्दै भने, ‘हारेकालाई जिताउने गलत संस्कार बसाउन संविधान संशोधन गर्ने अधिकार कसले दियो ?’
निर्वाचनमा पराजय ब्यहोरेकाहरूलाई आवधिक निर्वाचन नभएसम्म कुनै पदमा जाने हैसियत नभएको उनको भनाई थियो ।
संसदलाई जानकारी नै नदिई सरकारी जग्गा ब्यापारिक घरानालाई दिनसक्ने गरी वर्तमान प्रधानमन्त्री आफैंले नेपाल ट्रस्टको विनियम संशोधन गरेर यति होल्डिङलाई जग्गा दिएकोप्रति आपत्ति प्रकट गरेका नेता सिटौलाले भने, ‘यो दोस्रो जनआन्दोलनमा गरेको प्रतिवद्धता विपरीत छ । व्यापारीलाई दिइएका सबै सम्पत्ति नेपाल ट्रस्टमै फिर्ता ल्याएर ग्लोबल टेण्डर गरेर पारदर्शी ढंगमा ठेक्का वा लिजमा दिनुपर्छ ।’
तत्कालीन श्री ५ को सरकार मातहतमा रहेको जग्गा नेपाल ट्रस्टको नाममा ल्याउने र जनताको शिक्षा/स्वास्थ्यका लागि सदुपयोग गर्ने गरी नेपाल ट्रस्टको विधेयक आफैंले ड्राफट गरेको जानकारी दिँदै नेता सिटौलाले प्रधानमन्त्रीलाई प्रश्न गरे, ‘नारायणहिटी राजदरबारसहित तत्कालीन राजसंस्थाको सम्पत्तिलाई जनहितमा प्रयोग गर्ने तपाईंको प्रतिबद्धता कहाँ गयो ?’
संविधानको दुरुपयोग गरेर कम्युनिष्ट नेतृत्वको सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको बताउँदै नेता सिटौलाले पार्टीभित्रको वैचारिक, नेतृत्व र रणनीतिक विवाद टुंग्याउँदै आन्तरिक संघर्ष समाप्त पारेर कम्युनिस्ट सत्ताका विरुद्ध संघर्ष गर्न तयार हुनुपर्ने अवस्था आएको धारणा राखे ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कार्यक्रमका विशिष्ट अतिथि केशवकुमार बुढाथोकीले आफ्नै नेताको उछितो काढेर संगठन बलियो नहुने बताउँदै काम गर्ने क्रममा भएका गल्तीलाई आन्तरिक छलफलबाट टुंग्याउनुपर्नेमा जोड दिए ।
पार्टी महाधिवेशनमा प्रवेश गरिसकेको बताउँदै उनले राम्रो नेतृत्व छान्न र पुराना कार्यकर्ताको खोजी गरी अभिलेख राख्न आग्रह गरे ।
अर्का केन्द्रीय सदस्य तथा राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका सचेतक सरिता प्रसाईले कम्युनिस्ट नेतृत्वको सरकार जनभावना लत्याएर अधिनायकवादतर्फ उन्मुख भएको बताए । एकपछि अर्को जनविरोधी विधेयक अधिनायकवादी यात्राको प्रारम्भ भएको बताउँदै उनले निर्वाचनमा कांग्रेस हारेपनि नीति, सिद्धान्त, विचार र दृष्टिकोणमा नहारेको दावी गरे ।
यति होल्डिङलाई जग्गा दिने, युनिभर्सिटीका जग्गा लिजमा दिनेजस्ता निर्णयले सरकार नीतिगत भ्रष्टाचारमा लागेको प्रष्टिने बताउँदै उनले सरकारका गलत कामको भण्डाफोर गरेर जनतालाई जागरुक बनाउने बेला आएको धारणा राखे ।
नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले भ्रष्टाचाररत कम्युनिस्ट नेतृत्वको सरकाले देशलाई खोक्रो बनाएको टिप्पणी गरे ।
संविधानसभा सदस्य तथा नेपाली कांग्रेस झापाका पूर्व सभापति सुधिरकमार शिवाकोटीले सरकार एकदलीय तानाशाही व्यवस्था लाद्न उद्यत रहेको बताउँदै लोकतन्त्रको रक्षाका लागि नेपाली कांग्रेसको संगठन बलियो बनाउन युवाहरू सन्तुष्ट हुने नीति लिनुपर्नेमा जोड दिए ।
पूर्व सांसद डिल्ली सिटौलाले पार्टीलाई बलियो बनाउन नेतृत्वले दुई कदम अघि र पछि सर्न समेत तयार हुनुपर्ने बताउँदै सबैलाई मिलाएर लान सक्ने नेतृत्व महाधिवेशनमार्फत स्थापित गर्न सुझाव दिए ।
नेपाली कांग्रेस झापा क्षेत्र नं–२ का सभापति खगेन्द्र मैनालीले सांगठनिक अवस्था, भावी कार्यक्रम र कांग्रेसलाई बलियो बनाउन नेतृत्वले अवलम्बन गर्नुपर्ने आचरण समेटिएको कार्यपत्र प्रस्तुत गर्नुभएको कार्यक्रममा स्वागत क्षेत्रीय सहसभापति धर्म लक्सम्बा र सञ्चालन सचिव किरण श्रेष्ठले गरेका थिए । कार्यक्रममा हजारौं कार्यकर्ताको सहभागिता रहेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।