काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र लामो समयदेखि चलिरहेको सुलसुले विवाद छताछुल्ल भएको छ ।
बुधबारको सचिवालय बैठकले गरेको उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य सिफारिस गर्ने निर्णयमा वरिष्ठ नेताहरू नै विभाजित देखिएपछि विवाद छताछुल्ल भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वामदेवलाई सिफारिस गर्न नसकिने भनेर शीर्ष नेतृत्व तहमा असन्तुष्टि पोखेका बेला उनी निकट सचिवालय सदस्य ईश्वर पोखरेलले समेत वामदेवलाई राष्ट्रियसभामा लैजाने निर्णय नभएको दाबी गरे । तर पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले वामदेवलाई सिफारिस गर्ने निर्णय भएको निर्णय सार्वजनिक गरेका थिए ।
रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेको २ वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रमपछि पत्रकारसँग कुरा गर्दै उपप्रधान तथा रक्षामन्त्री पोखरेलले भने, ‘वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय भएको हो तर यही कार्यकालमा लैजाने वा पछि भन्ने चाहिँ निश्चित भएको छैन । राष्ट्रिय सभामा वामदेवलाई लैजाने सहमति भएको छ तर २ वर्ष, ४ वर्ष वा ६ वर्षपछि लैजाने भन्ने थाहा छैन ।’
यसअघि वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन संविधान संशोधन गर्ने भनेर चलेको चर्चाका विषयमा समेत उनले असन्तुष्टि व्यक्त गरे । ‘एक जनालाई प्रधानमन्त्री बनाउने भनेको के सुटुक्क टिपेर राख्ने हो र ? यसमा त सम्पूर्ण प्रक्रिया नै पुनः बनाउनुपर्छ । अथवा, संविधान नै संशोधन गर्नुपर्ने हुन्छ,’ उनले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।