दाङ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका चर्चित युवा नेता तथा पूर्व मन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नैतिकता भए तुरुन्तै कुर्सी छाड्नुपर्ने चुनौती दिएका छन् ।
गिरिजाप्रसाद कोइराला फाउन्डेसनले दाङमा आयोजना गरेको ‘कोइरालाको शान्तिप्रक्रिया स्थापनामा योगदान’ विषय कार्यक्रममा नेता थापाले ओलीले कर्सीमा बस्ने नैतिकता गुमाइसकेको बताए ।
वर्तमान सरकार र मन्त्रीहरूका दैनिकजसो सार्वजनिक हुने काण्डले प्रधान्मन्त्री ओलीको कुर्सीमा बस्ने नैतिकता हराएको टिप्पणी उनले गरे । ‘कति काण्ड उहाँसँगै छन्, कति अरुसँग भए,’ उनले भने, ‘जसले गर्दा पनि ओलीको पदमा बस्ने नैतिकता देखिँदैन ।’
दिनदिनैका विभिन्न काण्डले प्रधानमन्त्री ओलीले कुर्सीमा बस्ने राजनीतिक र नैतिक कुनै आधार नरहेको बताए । ‘आफ्नै भान्साभित्रको सदस्यको काण्डहरु प्रधानमन्त्रीले थाहा नपाउनु र ढाकछोप गरेर राख्नुले उहाँ राजनीतिक र नैतिक हिसाबले विफल भइसक्नुभयो,’ उनले भने, ‘एउटा–दुई वटा मात्रै होइन, यहाँ त दैनिक नयाँ–नयाँ काण्ड मच्चिरहेका छन् । ४–५ दिनकै हेरौं गोकुल काण्ड, वामदेव काण्ड, संविधान काण्ड, केक काण्ड यसले सबै प्रस्ट पारेको छ ।’
बहुमतको कम्युनिस्ट सरकारले संविधान रक्षा गरेर संविधानको कार्यान्वयनमा लाग्नुको सट्टा संविधानलाई कमजोर बनाउने दृष्टता गरेको नेता थापाले बताए । सरकारले संविधान नै संकटमा पर्ने गरी गतिविधि सञ्चालन गरिरहेको उनले बताए ।
‘अहिले सरकार कुनै पार्टीले चलाएको छैन, दुई जना व्यक्तिले सरकार चलाइरहेका छन् । लोभ र डरले सत्ता चलाउँदा संविधान नै संकटमा परेको छ,’ उनले भने ।
संविधान जोगाउनुपर्ने चुनौती रहेकाले नेपाली कांग्रेस चनाखो हुनुपर्ने उनले बताए । ‘संसदमा पेश भएका सबै कानून पास भए संविधान गयो भनेर बुझ्दा पनि हुन्छ । अहिले जनता तर्साउने र सत्ता लम्ब्याउने काम भइरहेको छ,’ उनले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।