काठमाडौं – अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौता राष्ट्रघाती भएको भन्दै विभिन्न राजनीतिक दलले नेपाल बन्द गर्ने घोषणा गरेका छन् ।
देशभर संगठन भएका विभिन्न ९ दलको संयुक्त मोर्चाले एमसीसी सम्झौता खारेज हुनुपर्ने माग राख्दै नेपाल बन्द सहितका आन्दोलनका कार्यक्रम घोषणा गर्ने निर्णय गरेको छ ।
मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), मोहन विक्रम सिंह नेतृत्वको नेकपा (मसाल) लगायतका दलले संयुक्त मोर्चा गठन गरेर एमसीसी सम्झौता खारेजीका लागि संघर्ष गरिरहेको छ ।
मोर्चाले एमसीसीको खारेजीसँगै भारतद्वारा मिचिएका लिपुलेक, कालापानी लगायतका नेपाली भूभाग फिर्ताको लागि संघर्ष गर्ने निर्णय गरेको छ । मोर्चाले नेकपा संयुक्तलाई समेत समेटेर १० दलीय मोर्चा बनाउने निर्णय समेत गरेको छ ।
एमसीसी विरुद्धको संर्घषका कार्यक्रम अन्तर्गत फागुन १५ गते अन्तर्क्रिया गर्ने, फागुन १६ गते संसद भवन घेराउ गर्ने लगायतका कार्यक्रम रहेका छन् । मोर्चाले सार्वभौमिकता र अखण्डतामाथि प्रश्न उठिरहेको अवस्थामा संघर्षको उत्कर्ष रुप ‘नेपाल बन्द’ कार्यक्रम समेत आयोजना गर्ने निर्णय गरेको छ ।
आन्दोलनका कार्यक्रमलाई सरकारले गम्भीरताका साथ नलिए नेपाल बन्दको मिति पछि घोषणा गरिने मोर्चाले जनाएको छ । आन्दोलनका कार्यक्रमलाई सफल पार्नका लागि संयुक्त मोर्चाले सबै देशभक्त नेपालीलाई सार्वजनिक आह्वान गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।