काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकमा अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताले प्रवेश पाएको छ ।
पार्टीको अध्ययन कार्यदलले शुक्रबार पेश गरेको प्रतिवेदनमाथि सचिवालय बैठकमा छलफल भएको छ । छलफलका क्रममा सचिवालयमा एमसीसीको पक्ष र विपक्षमा घम्साघम्सी भएको छ ।
शनिवार साँझ बसेको सचिवालय बैठकमा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्ययन कार्यदलको प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसपछि सचिवालय बैठकमा कार्यदलका संयोजक झलनाथ खनालले प्रतिवेदनबारे विस्तृत जानकारी दिएका थिए ।
प्रतिवेदनले एमसीसीलाई यथास्थितिमा पारित गर्न नहुने र संशोधन गर्नुपर्ने सुझाव दिएको छ । तर प्रधानमन्त्री ओली एमसीसीलाई यथास्थितिमै जसरी पनि पारित गराउनुपर्ने पक्षमा छन् । जुन झल्को सचिवालय बैठकमा समेत घम्साघम्सीबाट देखिएको स्रोतले जनाएको छ ।
सचिवालय बैठकमै एमसीसीको विवाद देखिएपछि कुनै निर्णय हुन सकेन । स्रोतका अनुसार औपचारिक निर्णय हुन नसकेपनि अध्ययन कार्यदलको सुझाव अनुसार सम्झौता परिमार्जन गरेर जानुपर्ने मत अधिकांश सचिवालय सदस्यले राखेका छन् ।
पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको संयोजक रहेको तीन सदस्यीय कार्यदलले शुक्रवार प्रतिवेदन बुझाएको थियो । कार्यदलमा स्थायी कमिटी सदस्य भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सदस्य रहेका थिए । कार्यदलले यथास्थितिमा प्रतिवेदन पास गर्न नहुने र केही असमान शर्तहरू संशोधन गर्नुपर्ने सुझाव दिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।