काठमाडौं – नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाईंको पहलमा नेपाली कांग्रेसका शुभेच्छुक विजय केसीले एक जना बिरामीलाई नगद आर्थिक सहयोग गरेका छन् ।
भोजपुरको पौवा दुम्मा गाउँपालिका–१ स्यामशिला निवासी मनिकुमार राईलाई उपाध्यक्ष चापागाईं र कांग्रेसका शुभेच्छुक केसीले शुक्रवार अस्पतालमै पुगेर ५ हजार नगद आर्थिक सहयोग दिएका छन् ।
उपाध्यक्ष चापागाईंले रकम सानो भएपनि पीडितको उपचारमा थोरै भएपनि महत्त्व राख्ने बताएका छन् । ‘बिरामी भइ उपचार गराइरहनुभएका मनिकुमार राईलाई हामीले गरेको आर्थिक सहयोगले धेरै महत्त्व नराख्न सक्छ,’ उनले भने, ‘भोजपुर जिल्लाबासीले यसैगरी ससानो रकम सहयोग गर्ने हो भने उहाँको उपचारमा ठूलो मद्दत पुग्छ । सहयोगका लागि सबैमा अपिल गर्छु ।’
कांग्रेसका शुभेच्छुक एवं शिक्षाप्रेमी विजय केसीले खुट्टामा गम्भीर समस्या भएर त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका मनिकुमार राईलाई सानो सहयोग गर्न पाउँदा ठूलो सामाजिक दायित्व बहन गरेको आभास भएको बताएका छन् । उनले रकम सानो वा ठूलोभन्दा पनि बिरामीलाई सहयोग गर्नुपर्ने भावनाले आफूले सहयोग गरेको बताएका छन् ।
सामाजिक कार्यमा संलग्न हुँदै आएका शिक्षाप्रेमी एवं युवा व्यवसायी केसीले थुप्रै सामाजिक कार्य गर्दै आएका छन् । काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका मनिकुमार राईका आफन्त गुणराज राईलाई आर्थिक सहयोग प्रदान गरिएको उपाध्यक्ष चापागाईंले बताए ।
रुख काट्ने क्रममा च्यापिएर खुट्टामा गम्भीर चोट लागेका राईको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
राईको खुट्टाको शल्यक्रिया पनि भएको छ । राईको खुट्टाको केही भाग काटेर फाल्नुपर्ने सुझाव चिकित्सकले दिएका छन् ।
आर्थिक अवस्था अत्यन्तै कमजोर रहेका बिरामी मनिकुमार राईका आफन्तले सम्भव भएसम्म खुट्टा नकाट्न चिकित्सकसँग आग्रह गरेका छन् । आर्थिक सहयोग प्रदान गर्ने क्रममा तरुण दलका केन्द्रीय उपाध्यक्ष चापागाईं, कांग्रेसका शुभेच्छुक एवं शिक्षाप्रेमी विजय केसी, भक्तपुर तरुणका जिल्ला सदस्य सञ्जोग थापा, बिरामीका आफन्त गुणराज राई लगायतको उपस्थिति थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।