काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोगको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई संसदबाट पारित गराएका कार्यान्वयन गर्ने ठूलो सपना देखेका थिए ।
ओलीले सार्वजनिक भाषणमा एमसीसी पारित हुने र कार्यान्वयन हुने अभिव्यक्ति दिँदै आइरहेका बेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) द्वारा गठित एमसीसी अध्ययन कार्यदलले ओलीलाई झड्का लाग्ने गरी प्रतिवेदन तयार गरेको छ ।
एमसीसी सम्झौतामा संशोधन नगरी संसदबाट अनुमोदन गर्न नहुने निष्कर्षसहित कार्यदलले सुझाव दिएको छ । पूर्व प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको समितिमा स्थायी कमिटी सदस्य भीम रावल र प्रदीप ज्ञवाली सदस्य थिए । समितिबाट सर्वसम्मत रुपमा सम्झौता संशोधन गर्नुपर्ने सुझाव दिइएको छ ।
एमसीसी सम्झौताबारे पार्टीमा चर्को विवाद भएपछि माघ १९ गते केन्द्रीय कमिटी बैठकबाट कार्यदल गठन गरेको थियो । ओलीसहित सरकारी मन्त्री एमसीसी सम्झौताको पक्षमा देखिएका थिए भने खनाल र रावलसहितका अधिकांश नेकपा नेता सम्झौताको विरोधमा थिए ।
ओलीले जसरी पनि एमसीसी सम्झौता कार्यान्वयन गराउने सपना देखिरहेका बेला कार्यदलको प्रतिवेदनले नैतिक संकटमा पारेको छ । कार्यदलले शुक्रवार साँझ पार्टी अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटारमा प्रतिवेदन बुझाएको छ ।
प्रतिवेदनको निष्कर्षबारे बताउँदै पूर्व प्रधानमन्त्री समेत रहेका संयोजक खनालले सबै कुराको अध्ययन गरिसकेपछि सम्झौता नसच्याइकन र सुधार नगरिकन लागू गर्न नहुने बताए ।
नेता खनालले एमसीसी सम्झौता सम्बन्धी कागजात अध्ययन गर्दा हालसम्म सार्वजनिक नभएका अरु पनि १४–१५ वटा सहायक सम्झौता फेला परेको बताए । उनले भने, ‘हामीले २० दिन लगाएर प्रतिवेदन तयार पार्यौं । हामीले गम्भीररुपले सबै डकुमेन्टहरू अध्ययन गर्यौं । दर्जनौं डकुमेन्टहरू रहेछन् । एमसीसीको मात्रै होइन, हामीले त्यसका सहायक सम्झौताहरू हर्यौं । कार्यान्वयन सम्झौताका नाममा अरु १४–१५ वटा सम्झौता समेत गरेका रहेछन् । ती सबै कुराहरू सार्वजनिकरुपमा आएका थिएनन् ।’
नेपालस्थित अमेरिकी दूतावासले भने एमसीसी सम्झौता संशोधन हुन नसक्ने स्पष्ट पारेको छ । सम्झौता संशोधन पनि नहुने र यस्तै अवस्थामा कार्यान्वयन पनि गर्न नहुने कार्यदलको सुझावले नेकपाभित्र थप अन्योल बढेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।