धरान – नेपाली कांग्रेसका चर्चित युवा नेता एवं पूर्व सांसद रामहरि खतिवडाले पार्टी संकटमा परेका बेला सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले तेरो–मेरो नभनिकन हातेमालो गर्न आवश्यक रहेको सुझाव दिएका छन् ।
धरानमा नेपाली कांग्रेसले बुधवार आयोजना गरेको कार्यक्रममा युवा नेता खतिवडाले दुई शीर्ष नेताहरू मिलेको सन्देश दिनुपर्ने बताएका छन् ।
‘धरानमा कांग्रेसले ६० वर्षपछि जितेको छ । यो ठाउँबाट दुई शीर्ष नेताहरूले एकताको सन्देश छर्न सक्नुपर्छ,’ उनले भने, ‘गुटभन्दा माथि उठेर पार्टी बनाउनुपर्छ ।’
नेपाली कांग्रेसकै नेतृत्वमा २००७ सालमा राणालाई हटाएर प्रजातन्त्र ल्याएको स्मरण गरेका खतिवडाले भने, ‘राणालाई फाल्यौं, पञ्चायतलाई फाल्यौं, राजालाई फाल्यौं, जनताको अधिकार खोस्न खोज्यो भने यो दुईतिहाइको कम्युनिस्टलाई पनि फाल्छौं ।’ उनले जनतालाई संविधानले दिएको अधिकार खोस्ने काम कतैबाट हुन नहुने चेतावनी दिएका छन् ।
मात्तिएका कम्युनिस्टहरूले अधिनायकवाद ल्याउन खोजिरहेका बेला कांग्रेस पार्टी एक हुनुपर्ने उनले बताए । ‘कम्युनिस्ट सरकार तानाशाही बनेको छ । संविधानलाई गलत ब्याख्या गरिरहेको छ,’ उनले भने, ‘मानवअधिकार हनन् भएको छ, प्रेसमाथि आक्रमण भएको छ ।’
युवा नेता खतिवडाले कम्युनिस्टहरू हाबी भएर लोकतन्त्रमाथि धावा बोल्न खोजिरहेका बेला प्रजातन्त्रवादी शक्ति एक हुनुपर्ने बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।