धरान – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्र दिवसको अवसरमा पार्टीलाई एक बनाएर ठूलो दल बनाउने प्रतिबद्धता सबै नेता कार्यकर्ताले गर्नुपर्ने बताएका छन् ।
धरान नगर कार्यसमितिले बुधवार धरानमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले लोकतन्त्रका आधारस्तम्भहरूमा कम्युनिस्ट सरकारले प्रहार गरेको बेला सबैले एकजुट भए पार्टी बलियो हुने ‘आइडिया’ निकालेका छन् ।
‘२००७ सालमा कांग्रेसको नेतृतवमा प्रजातन्त्र ल्याइएको थियो,’ उनले भने, ‘त्यसैको जगमा मुलुकमा लोकतान्त्रिक संघीय गणतन्त्र आएको छ । यसको रक्षा गर्नुपर्छ ।’ उनले मुलुकमा प्रजातन्त्र ल्याउनका लागि कांग्रेसले राणा र राजाहरूसँग ठूलो आन्दोलन गर्नुपरेको भन्दै अग्रजहरूको योगदानलाई खेर जान दिन नहुने बताएका छन् ।
कम्युनिस्ट सरकारले लोकतान्त्रिक शक्तिहरूलाई कमजोर बनाएर व्यवस्था नै उल्ट्याउने प्रयास गरिरहेको उनले बताए । ‘ओली सरकारले संविधान, मानवअधिकार, राष्ट्रियता, स्वतन्त्र प्रेस कमजोर गराउन थालेको छ,’ देउवाले भने, ‘प्रेस कमजोर भयो भने लोकतन्त्र कमजोर हुन्छ । कांग्रेसले लोकतन्त्रलाई कमजोर हुन दिन्न ।’
अहिलेको अवस्थामा पार्टी एक भएर जानुपर्ने उनले बताए । ‘पार्टीभित्रका केही मतभेद छन् भने मिलाउनुपर्छ । धेरै कुराहरू मिलाएका पनि छौं,’ सभापति देउवाले भने, ‘प्रजातन्त्रको रक्षाका लागि कांग्रेसले एकता र मेलमिलापको नीति अंगीकार गर्नुपर्छ ।’ सभापति देउवाले पार्टीलाई एकताबद्ध बनाएर अब आउने निर्वाचनमा पहिलो पार्टी बनाउने बताएका छन् ।
कार्यक्रममा महामन्त्री डा. शशांक कोइरालाले पनि कांग्रेसभित्र आजैका दिनदेखि मेलमिलापको नीति लिएर अगाडि बढ्नुपर्ने बताए । उनले अबको निर्वाचनमा पार्टीलाई ठूलो बनाउनका लागि मिलेर जानुपर्ने प्रस्ताव गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।