काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको दुई वर्ष पूरा भएको छ ।
संवैधानिक प्रावधान अनुसार सरकारलाई दुई वर्ष भएपछि संसदमा अविश्वासको प्रस्ताव गर्दा गरेर सरकार ढाल्न सकिन्छ ।
सरकारले दुई वर्ष पूरा गरेको अवसरमा प्रधानमन्त्री ओलीले संसदमा बोल्दै सरकार पाँच वर्ष टिक्ने दाबी गरेपनि गृहजिल्ला पुगेर उनले सरकारविरुद्ध षड्यन्त्र भइरहेको खुलासा समेत गरे ।
प्रतिनिधिसभा बैठकको सम्बोधनमा सरकारका उपलब्धिको चर्चा गर्दै उनले सरकार २ वर्ष टिक्नु पनि उपलब्धि भएको बताए । ‘एउटै सरकारले २ वर्ष पूरा गर्नु पनि उपलब्धिको रुपमा लिनुपर्ने रहेछ,’ उनले भने ।
संसदमा बोलेको भोलिपल्ट गृहजिल्ला झापा पुगेका प्रधानमन्त्री ओलीले आफ्नो सरकार ढाल्ने षड्यन्त्र भइरहेको खुलासा गरे । संवैधानिक व्यवस्था अनुसार भने अब सरकार ढाल्ने बाटो खुलेको छ ।
सरकार ढाल्ने षडयन्त्र गर्नेबारे स्पष्ट खुलासा नगरेका ओलीले भने, ‘सरकारविरुद्ध विभिन्न शक्तिकेन्द्रले षड्यन्त्र गरिरहेका छन् । मुलुकको विकासको रफ्तारलाई रोक्न एकल बहुमतवाला सरकारलाई पनि ढाल्ने क्रियाकलाप जारी रहेको छ ।’
बाँकेको नेपालगञ्जमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै प्रचण्डले भने ओली सरकार नै पाँच वर्ष चल्ने बताएका छन् । प्रधानमन्त्री परिवर्तन गर्दा जनतामा अन्योलता हुने भएकाले स्थिरताका लागि ओली नै प्रधानमन्त्री रहने जनाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।