पाँचथर – जिल्लाको कुम्मायक गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङ एकपछि अर्को मुद्दामा फस्दै गएका छन् ।
पूर्व एमालेबाट अध्यक्षमा निर्वाचित चेम्जोङ एक महिलालाई घरनिकाला गरेको मुद्दाको किनारा लाग्न नपाउँदै भ्रूणहत्या आरोपमा फसेका छन् ।
भ्रूणहत्या मुद्दामा अध्यक्ष चेम्जोङसहित सात जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी परेको छ । चेम्जोङले नै गत जेठ १७ गते कुम्मायक गाउँपालिका–४ यासोक बजारकी विष्णुमाया सम्बाहाङफेलाई घरनिकाला गरेका थिए । भदैनी पर्ने गीतामाया सम्बाहाङफेसँगको आर्थिक लेनदेन विवादलाई लिएर चेम्जोङले विष्णुमायालाई घरबाट निकालेका गरेको सार्वजनिक भएको थियो ।
‘भदैनीसँगको आर्थिक लेनदेन मिलाइदिन गाउँपालिकालाई आग्रह गरेकी थिएँ,’ विष्णुमायाले भनिन्, ‘हाम्रो विवाद मिलाइदिनुको साटो गाउँपालिका अध्यक्षले उल्टै मलाई घरनिकाला गरिदिए । अन्यायमा परेपछि अदालतमा मुद्दा हालेको हुँ ।’
चेम्जोङकै नेतृत्वमा घरका सामान सडकमा मिल्काइएको विष्णुमायाले बताइन् । ती सामान अझै पनि सडकमा फालिएका छन् । विष्णुमाया १३ वर्षीय छोरासँग जिल्ला सदरमुकाम फिदिममा डेरा लिएर बसेकी छन् । उनले अध्यक्ष र न्यायिक समितिका पदाधिकारीसहित पाँच जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा हालेकी छन् ।
अध्यक्ष चेम्जोङविरुद्ध भ्रूणहत्या आरोपमा अर्काे किटानी जाहेरी समेत प्रहरीमा परेको छ । यासोक बजारकै १९ वर्षीया किशोरीलाई २१ साताको गर्भ फाल्न बाध्य पारेको आरोपमा सात जनाविरुद्ध उजुरी परेको छ । कुम्मायक–५ स्याबरुम्बाका रमेश खड्कासँग अन्तरजातीय विवाह गरेकी दलित किशोरीलाई गर्भपतन गराउन चेम्जोङले दबाब दिएको पीडित पक्षको आरोप छ । ‘रमेशसँगको हाम्रो नाता प्रगाढ थियो,’ पीडित किशोरी भन्छिन्, ‘अध्यक्ष र रमेशको परिवारले जबरजस्ती गर्भपतन गराएपछि उजुरी दिनुपरेको छ ।’
मुद्दा परेपछि चेम्जोङसहित चार जना फरार भएका छन् । प्रहरीले अनुसन्धानका लागि तीन जनालाई नियन्त्रणमा लिइसकेको छ । अध्यक्षको खोजी भइरहेको प्रहरीले जनाएको छ । ‘कानूनबमोजिम काम गर्न प्रहरीले कुनै कसर बाँकी राख्दैन,’ पाँचथरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले भने, ‘फरार रहेका सबैलाई खोज्दैछौं ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।