काठमाडौं - नेपाली कांग्रेसका नेता तथा राष्ट्रियसभाका सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएको छ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक आदर्श नगरपालिका–१० मधुवनीस्थित निवासमा उनको निधन भएको हो ।
क्यान्सरबाट पीडित ५० वर्षीय नेता उपाध्यायको शुक्रबार बिहान ८ बजे निधन भएको कांग्रेस रूपन्देहीका सभापति अब्दुल रज्जाकले जानकारी दिएका छन् । कांग्रेस महासमिति सदस्यसमेत रहेका उपाध्याय २०७४ मा प्रदेश नं. ५ बाट राष्ट्रियसभाको सदस्यमा निर्वाचित भएका थिए ।
पिता जंगीप्रसाद उपाध्याय र माता सोनमति उपाध्यायको सुपुत्रका रुपमा उनको २०२६ सालमा जन्म भएको थियो । उपाध्याय २०४६ सालको ऐतिहासिक जनआन्दोलनदेखि कांग्रेसमा सक्रिय रहँदै आएका थिए । उनी २०५४ को स्थानीय निर्वाचनमा रुपन्देहीको साविक मधुवनी गाविसमा उपाध्यक्ष पदमा निर्वाचित भएका थिए ।
उपाध्याय २०६७ को १२ औं महाधिवेशन र २०७२ को १३ औं महाधिवेशनमा क्षेत्रीय सभापति समेत थिए । लुम्बिनी विकास कोषको कार्यकारिणी सदस्यसमेत रहेका उपाध्याय विभिन्न समाजिक संघ संस्थामा संलग्न रहँदै आएका थिए ।
उनको निधनप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । “राष्ट्रियसभाका वर्तमान सांसद एवं नेपाली कांग्रेस रुपन्देहीका महाधिवेशन प्रतिनिधि दुर्गाप्रसाद उपाध्यायको निधनको खबरले म अत्यन्त दुःखीत र स्तब्ध भएको छु ।
स्वर्गीय उपाध्यायले नेपालको लोकतान्त्रिक आन्दोलनहरु र पार्टीको संगठनमा सक्रिय योगदान पुर्याउनुभएको थियो । उहाँको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको छ ।
पार्टी र मेरो व्यक्तिगत तर्फबाट उहाँमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, उहाँको आत्माको चीर शान्तिको कामना गर्दै उहाँका सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु,” देउवाले जारी गरेको शोक वक्तव्यमा उल्लेख छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।