काठमाडौं – नेपाल विद्यार्थी संघका नेता चेतराज धिक्तले नेपाली कांग्रेसका नेताहरूलाई उनीहरूकै स्वकीय सचिवले बिगार्ने गरेको आरोप लगाएका छन् ।
नेविसंघ तदर्थ समिति गठन हुने प्रक्रिया सुरू हुँदा नेताका स्वकीय सचिवहरूले नेतालाई आफू अनुकूल रोज्न खोज्दा गलत मान्छे नेतृत्वमा आएको र सही मान्छेलाई अनेक बहाना लगाएर रोक्न खोजेको दुःखेको नेता धिक्तले गरे ।
राजनीति गर्ने नै भए नेताको वरिपरि घुम्नुभन्दा स्वकीयको पद छाडेर मैदानमा आउन धिक्तले खुला चेतावनी दिएका छन् । सोमबार बिहान सामाजिक सञ्जाल फेसबूकमा लामो स्टाटस लेख्दै नेता धिक्तले नेताका स्वकीयले अकूल सम्पत्ति कसरी आर्जन गरेर भनेर पनि प्रश्न गरेका छन् ।
उनले नेताका स्वकीयको सम्पत्ति छानबिन गर्नुपर्ने माग समेत गरेका छन् ।
नेता धिक्तले फेसबुकमा लेखेका छन्, ‘पूर्व मन्त्रीज्यूका स्वकीयहरूको पनि सम्पत्ति छानबिन सुरूवात गरौं । चप्पल पट्काउँदै गाउँबाट आएको कुनै पनि कामकाज नगरी ५–६ वर्षमा नै काठमाडौंमा करोडौं करोडका घडेरी कसरी बन्दै गए ... ? सुन्छौं घरबाट आउँदा कोठा भाडा हुन्थेन रे ! अहिले महल कसरी भए ... ? तपाईंहरूले नेताज्यूहरूको सचिवालयमा काम गर्ने हो । राजनीति गर्नु नै छ भने राजनीति गर्न मैदानमा आउनुपर्यो । नेता बिगार्ने अनि भ्रष्टाचार फैलाउने स्वकीयहरूको भण्डाफोर गरौं । जय नेपाल !’
नेविसंघका चर्चित नेता धिक्त अहिले कुन्दन काफ्ले निकट नेता मानिन्छन् । कुन्दन काफ्लेका सुदूरपश्चिममा विश्वासपात्र रहेका धिक्त सुदूरपश्चिममा भने पूर्वमन्त्री रमेश लेखकलाई नेता मान्छन् । नेताका स्वकीयका कारण नेविसंघका नेता कार्यकर्तामा निराशा र निष्क्रियता बढेको नेता धिक्तको निष्कर्ष रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।