काठमाडौं– बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई कारबाही गर्न माग गर्दै नेपाली कांग्रेसका भ्रातृ संगठनहरुले प्रर्दशन गरेका छन् ।
नेपाल महिला संघले सोमबार माइतीघर मण्डलामा आयोजना गरेको विरोध सभामा बोल्ने भ्रातृ संगठनका नेताहरुले पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई पनि कारबाहीको दायरामा ल्याउन माग गरेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धानको पछिल्लो कदमको विरोधमा आयोजित विरोध सभामा उनीहरुले पूर्वमुख्यसचिव लीलामणी पौडेललाई पनि अख्तियारले छानबिन गर्नुपर्ने माग गरेका हुन् ।
मन्त्रिपरिषद्ले गरेको निर्णयमा प्रधानमन्त्री र मुख्यसचिवलाई उन्मुक्ति दिएर मन्त्री र सचिवलाई मात्रै दोषी देख्नु आपत्तिजनक भएको उनीहरुको भनाइ थियो ।
महिला सघकी अध्यक्षसमेत रहेकी कांग्रेस सांसद उमा रेग्मीले मन्त्रिपरिषद्को निर्णय गलत हो भने पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, बाबुराम भट्टराई, मुख्यसचिव लीलामणी पौडेललाई पनि कारबाहीको दायरामा ल्याउन माग गरिन् ।
विरोध सभालाई सम्बोधन गर्दै नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले पनि आफूहरु उपसभापति विजयकुमार गच्छदारको बचाउका लागि नआएको दोहोर्याउँदै अख्तियारको विभेदको विरोध गर्न आएको बताए ।
उनले पनि ललिता निवास जग्गा प्रकरणमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुलाई पनि कारबाहीको दायरामा ल्याउन माग गरे ।
नेपाल विद्यार्थी संघकी महामन्त्री उर्मिला थपिलिया, नेपाल मुस्लिम संघका महासचिव मोख्तार अहमद्, नेपाल दलित संघका कार्यवाहक अध्यक्ष शम्भु हजारा पासवान, राष्ट्रिय मगर संघकी उपाध्यक्ष कुसुम थापाले पनि अख्तियारले पूर्वाग्रह राखेर छानबिन गरेको भन्दै आपत्ति जनाए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।