काठमाडौं – झण्डै १७ हजार व्यक्तिको मृत्यु हुने गरी तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्ध स्थापना भएको दिन फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाउँदै सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।
कालिकोट जिल्लाको पलाता गाउँपालिकाले जनयुद्ध दिवसका लागि भनेर फागुन १ गते सार्वजनिक बिदा घोषणा गरेको छ ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सञ्चालन भएको जनयुद्ध पटक–पटक विवादमा समेत आउने गरेको छ । केही दिनअघि प्रचण्डले ५ हजार मान्छेको मृत्युको जिम्मा लिने अभिव्यक्ति दिएपछि विवाद भएको छ । विवादमा आउने जनयुद्धका दिन स्थानीय सरकारले भने बिदा घोषणाा गरेको छ ।
माघ २५ गते गाउँपालिकाको कार्यपालिका बैठकले जनयुद्ध दिवसका लागि फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको पलाता गाउँपालिकाका सूचना अधिकारी नवीन चौहानले बताएका छन् । माओवादी पक्षले जनयुद्ध दिवसलाई भव्यताका साथ मनाउने निर्णय गरेपनि सरकारी निकायबाट बिदाको घोषणा भएको पहिलो पटक हो ।
जनयुद्ध दिवसका दिन गाउँपालिकाले सहिदको सम्झना गर्ने र सम्मानका लागि खेलकुद सहितका विभिन्न कार्यक्रम गर्ने निर्णय समेत गरिएको सूचना अधिकारी चौहानले जानकारी दिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।