काठमाडौं – सत्तारुढ नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार समेत रहेका केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध खुलेरै अभिव्यक्ति दिएका छन् ।
गत बुधवारदेखि जारी केन्द्रीय कमिटी बैठकको समूह छलफलको क्रममा अध्यक्षद्वयले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि शुक्रवार प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई २९ बुँदे लिखित सुझाव पेश गर्दै उनले आपत्ति प्रकट गरेका छन् ।
‘पार्टीमा गुटबन्दी फस्टाएको, अनुशासनहीनता, अराजकता प्रदर्शन र स्वार्थ प्रेरित बैठकहरू किन भए ?’ थापाले २३ पुसमा वामदेव गौतम निवास भैंसेपाटीमा प्रचण्डले गरेको भेलाप्रति संकेत गर्दै प्रश्न गरे, ‘भैंसेपाटी, खुमलटार वा अन्यत्र यस्ता बैठक किन भइरहेका छन् ? मूल नेतृत्वलाई घेराबन्दी र असफल पार्ने गरी अनुचित क्रियाकलापहरू गरिनु हुँदैन ।’
सुझावपत्रमा थापाले अमेरिकी सहयोग एमसीसीप्रति तथ्यहीन, गलत र उत्ताउलो दुष्प्रचार गरिएको उल्लेख गरेका छन् । यो आवद्यिक र परियोजना केन्द्रित अनुदान सम्झौता भएकाले सैनिक गठबन्धनको अंग भन्दै अनधिकृत टिप्पणी गरी भ्रम सिर्जना गरेको उनले बताए ।
‘अमेरिकाको सैन्य गठबन्धन नाटो मात्रै हो । इन्डो–प्यासिफिक स्ट्राटेजीको अंग वा सैन्य गठबन्धन होइन भनेर स्वयं एमसिसी र अमेरिकी दूतावासका तर्फबाट औपचारिक वक्तव्यमार्फत तथ्य स्पष्ट गरिसकेपछि किन अन्यथा र द्विविधाजनक कुरा गर्ने ?’ थापाले पेश गरेको सुझावमा उल्लेख गरिएको छ ।
थापाले जनयुद्ध र जनआन्दोलनको क्रम नमिलेको भन्दै जनआन्दोलन र जनयुद्धका ... भन्ने गरी उल्लेख गर्नुपर्ने सुझाव दिएका छन् । बुधवार प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा सरकारको कामको सन्दर्भमा रहेका नकारात्मक टिप्पणी गलत रहेको भन्दै उनले प्रतिवाद गरेका छन् ।
‘जनतालाई प्रत्यक्ष राहत पुर्याउने काम गर्न ध्यान नदिएकोजस्तो अर्थ लाग्ने गरी प्रतिवेदनबाट गलत सन्देश प्रवाह गरिनु हुँदैन,’ सुझावमा थापाले भनेका छन्, ‘राजधानीका सडकहरुमा रहेका खाल्डाखुल्डीहरू अभियानका रुपमा पुरिँदासमेत अन्यथा उल्लेख भएको छ । यसलाई हटाएर तथ्यसम्मत बनाउनुपर्छ ।’
प्रचण्डले बुधबार पेश गरेको राजनीतिक प्रतिवेदनमा ‘जनताको बहुदलीय जनवाद’ उल्लेख गर्दा ‘जबस’ लेखिएको छ । नियतवश त होइन होला, सच्याइनुपर्छ । विशेष अभियान ३ वा ५ महिना कति अवधिको सञ्चालन गर्ने हो ? एउटै स्पष्ट अवघि किटान गरिनुपर्छ,’ थापाले अध्यक्ष प्रचण्डलाई सुझाव दिए ।
प्रचण्डले पेश गरेको प्रतिवेदनले पार्टी सदस्यताको यकिन अभिलेख व्यवस्थित नगरी कुनै तहका अधिवेशनको मिति तोकिनु ‘अन्डा कोरल्नुअघि नै चल्ला हुर्काउन हतारो गरेजस्तो हुने’ उनले बताए ।
अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनको ‘अन्तर्राष्ट्रिय परिस्थितिका संकेत र हाम्रो दायित्व’ नामक २ नम्बर उपशीर्षकमा ‘....चीनलाई घेरा हाल्ने....’ भन्ने वाक्यांशप्रति थापाले आपत्ति जनाएका छन् । ‘यस्ता विवादास्पद वाक्य प्रयोग गर्नु हुँदैन,’ थापाले सुझाव दिएका छन् ।
प्रचण्डलाई थप सिकाउँदै थापाले भनेका छन्, ‘सार्वजनिक कार्यक्रमदेखि पार्टीका ठूला बैठकसम्म प्रयोग हुने भाषामा समानता र एकरूपता हुनपर्छ । ‘केन्द्रीय कमिटी’, ‘केन्द्रीय समिति’ भनेर दुईवटै प्रयोग नगरी एउटै र विधानबमोजिमको शब्दावली प्रयोग गरिनुपर्छ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।