काठमाडौं - पदभार ग्रहण गरेपछि तल्लो सदन प्रतिनिधि सभाका सभामुख अग्नीप्रसाद सापकोटाले भने– मलाई लागेको आरोप निरुपण गर्दै जाउँला । यो टिप्पणीले आफ्नो पद ‘सुरक्षित’ छ भन्नेमा सापकोटा ढुक्क छैनन् ।
काभ्रेमका अर्जुन लामाको हत्या प्रकरण उनका लागि किलकिलेमा अड्किएको हड्डी बनिरहेको छ । च्वास्स बिझाइरहने उक्त हड्डीले कुनै पनि बेला दुख दिन सक्ने त्रासबाट सापकोटा मुक्त छैनन् । यद्यपि, प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रारम्भिक कालमा दायाँ रहेकाले नै उनी सभामुखमा निर्वाचित हुन सफल भए ।
त्यसैको उदाहरणचाहिँ निर्वाचित भएको घोषणा हुनासाथ सदनमा दगुरेर प्रधानमन्त्री केपी शर्मा ओली भए ठाउँमा सापकोटा बधाई लिन पुग्नु पनि देखियो ।
नेकपामा लामो छलफल र रस्साकस्सीपछि सापकोटाको नाम सभामुख पदका लागि अनुमोदन भएको थियो । चार महिनासम्म खाली रहेको उक्त पदमा सापकोटाका नाममा सहमति जुटाउनका निम्ति विभिन्न चरणमा अनेक सर्तबमोजिमको सहमति भएको बताइएको छ ।
स्रोतका अनुसार विवादमा रहेको अमेरिकन मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) टेबुल गराउँदै पास गर्नेदेखि सरकारले ल्याएका कानुनलाई पास गराउन सहजीकरण गर्नुपर्ने सर्तमा सापकोटाको मौखिक वाचाबन्धन भएको छ ।
‘यति सजिलै सहमति भएको छैन । सापकोटा अघि नै विभिन्न नेतालाई सभामुख बनाउने विषयमा प्रस्ताव र विकल्पबारे छलफल भएका थिए’, उच्च स्रोतले भन्यो,‘उहाँको पद अहिले पनि प्रधानमन्त्री ओलीलगायत नेताको च्याँखे दाउमा नै छ । भित्रि सहमतिका आधारमा उहाँ सभामुखमा निर्वाचित हनुभएको हो ।’
कतिपयले सापकोटालाई सभामुखमा प्रधानमन्त्री ओली राजी हुनुको कारण सचिवालयमा अल्पमतमा पर्नु समेत बताएका छन् । नेकपा उपाध्यक्ष बामदेव गौतम निवास भैंसेपाटीमा माधवकुमार नेपाल, झलनाथ खनाल, प्रचण्डसहितको बैठक बसेको थियो । उक्त बैठकले पार्टीमा ओली अल्पमतमा छन् भन्ने सन्देश दिन खोजिएपछि सापकोटाका नाममा सहमतिमा आउन बाध्य बन्नुपरेको बताइन्छ ।
‘आफूविरुद्ध पार्टीका बहुमत सदस्य, खासगरी सचिवालयका सदस्यहरू एकमत भएपछि निर्णय मान्नुपर्छ भन्ने सन्देश प्रधानमन्त्रीले बुझ्नुभयो, त्यसैकारण पनि सापकोटाको नाममा उहाँ सहमत बन्नुको विकल्प थिएन’, उच्च स्रोतले भन्यो ।
त्यसो त ओलीनिकट मानिएका पत्रकार कनकमणि दिक्षित, सुवोधराज प्याकुरेललगायतको एउटा समूहले सापकोटालाई कुनै पनि हालतमा सभामुखमा निर्वाचित गराउन हुन्न भन्ने सुझाव पनि दिएको थियो । यसै कारण पनि सचिवालय बैठकअघि ओली–प्रचण्डबीच भएको सहमतिकै विषयमा प्रधानमन्त्रीको सचिवालयले खुलेर जानकारी दिएको थिएन ।
सापकोटाका नाममा ओली पनि बाध्यकारी अवस्थामा सहमतिमा पुग्नुपरेको दृष्टान्तका उपप्रधानमन्त्री ईश्वर पोखरेल, ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललगायत रुष्ट हुनु पनि हो । अर्कोचाहिँ सापकोटालाई विवादको घेरामा राख्नका निम्ति सोमबार सपथ लिने क्रममा अधिकारकर्मीका नाममा शीतलनिवासमा भएको प्रदर्शन पनि एउटा कारण हो ।
सापकोटालाई सभामुख नबनाई डा. शिवमाया तुम्बाहाम्फेलाई बनाउनुपर्ने प्रस्ताव त राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीसामु अनौपचारिक हिसाबमा गरेको चर्चा थियो । उक्त विषयमा सहमति हुन नसक्ने जानकारी आउनासाथ राष्ट्रपतिका राजनीति, मानवअधिकार सल्लाहकार, विज्ञका रुपमा काम गरिरहेका प्याकुरेलको राजीनामा आएको थियो ।
सापकोटाको उदय
नेकपा अध्यक्ष प्रचण्डसँग निकट रहेका सापकोटा यति चाँडै संवैधानिक पदस्थापनमा पुग्छन् भन्ने कसैले सोचेका थिएनन् । तर, तत्कालिन सभामुख कृष्णबहादुर महरा मदिराका तालमा आवेगमा आएर सचिवालयकी कर्मचारी रोशनी शाहीसँग प्रेमलाप गर्न पुग्नु नै सापकोटा सभामुखमा पुग्ने राजनीतिक वातावरण बन्यो ।
महरालाई अदालतले पूर्पक्षका लागि थुनामा पठाएको थियो, त्यसअघि नै उनको राजीनामा आइसकेको थियो । अर्कोचाहिँ संविधानत सभामुख वा उपसभामुख मध्ये एक नेकपाको हुनुपर्ने अवस्थामा सभामुख नै हात पर्ने र त्यो पनि प्रचण्डको कोटामा परेका कारण सापकोटाको विकल्प भेटिएन ।
प्रचण्डसँग लामो समय राजनीतिक जीवनमा सँगै हिँडेका सापकोटा विश्वासपात्र मात्र होइन, पटक–पटक मौका पाउने नेता पनि हुन् । एकै पटक पनि आफ्नो क्षेत्रमा चुनाव नहारेका उनी सञ्चारमन्त्री, वन तथा वातावरण मन्त्री बनिसकेका थिए । हाल पनि प्रचण्डको विश्वासको घेरामा रहेका सापकोटाको विकल्पमा कोही नेता थिएनन् ।
यता कतिपयले भने सापकोटाको अहिले पद यसै पनि जोखिममा नै रहेको बताएका छन् । देशीविदेशी विभिन्न निकायसँग राम्रो सम्बन्ध रहेका पत्रकार, मानवअधिकारकर्मी सापकोटाको विरोधमा रहेका कारण जे पनि हुनसक्ने बताइएको छ । ‘उनले पद ग्रहण त गरे तर त्यो सभामुखको कुर्सीमा विवाद र मुद्दाको थुप्रो बोकेर बसेका कारण ‘ग्रहण’ भित्रै छन्’, नेकपा नेता भन्छन्,‘यसलाई निरुपण गरी विश्वासको वातावरण बनेन भने नेपालको इतिहासमा ५ बर्षको अवधिका अर्का सभामुख पनि कारबाहीमा नपर्लान् भन्न सकिन्न ।’
(जनप्रहार साप्ताहिकबाट साभार)
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।