काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले २०७७ फागुनमा तोकिएको महाधिवेशनको मिति यथावत् राख्दै प्रदेश र जिल्ला अधिवेशनको कार्यतालिका हेरफेर गर्ने निर्णय गरेको छ ।
सोमबार केन्द्रीय कार्यालय सानेपामा भएको कार्यसमिति बैठकले केन्द्रीय महाधिवेशनको मिति यसअघिकै बैठकले तय गरेअनुसार हुने निर्णय समेत गरेको छ ।
कांग्रेसको १४ औं महाधिवेशन २०७७ फागुन ७ गतेदेखि १० गतेसम्म हुने भएको हो । सोमबार भएको यो निर्णय पार्टीको सर्वसम्मत निर्णय हो ।
केन्द्रीय समिति सदस्य नविन्द्रराज जोशीले वडा, पालिका, क्षेत्र, प्रदेश, जिल्ला अधिवेशनको मिति सार्ने सहमति भएको बताएका छन् । बैठकले क्रियाशील सदस्यता छानबिनका लागि ७ सदस्यीय समिति बनाउने निर्णय समेत गरेको छ ।
‘समितिका सदस्यहरूको नाम आएको छैन, ७ सदस्यीय समिति बनाउने निर्णय मात्र भएको छ,’ जोशीले भने, ‘यससँगै क्रियाशील सदस्यता सम्बन्धी धाराहरू निलम्बन गर्ने गत पुस ११ गतेको बैठकको निर्णय उल्टिएको छ ।’
क्रियाशील सदस्यतासम्बन्धी धाराहरू ४ (२), ४ (१०) (ञ), ४ (१२) (ख), ३५ (२) (घ) र ५० (६) मा रहेको व्यवस्था निलम्बन गर्ने बहुमत सदस्यले गरेको निर्णयलाई सोमबारको बैठकले उल्ट्याइदिएको छ ।
भातृ संगठन नेविसंघ सम्बन्धी विवाद मिलाउने निर्णय आगामी केन्द्रीय कार्यसमिति बैठकले गर्ने गरी सारिएको छ ।
सोमबारको बैठकमा असन्तुष्ट वरिष्ठ नेता रामचन्द्र पौडेल समेत सहभागी रहेका थिए । यसअघि वरिष्ठ नेता पौडेलले गत पुस ११ गतेको निर्णय फिर्ता नलिएसम्म औपचारिक बैठकमा सामेल नहुने अडान लिँदै आएका थिए ।
सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेलबीच विवाद समाधान गर्ने सहमति भएपछि सोमबारका लागि बैठक डाकिएको थियो । कांग्रेसको आन्तरिक विवाद समाधानका निम्ति उपसभापति विमलेन्द्र निधि, नेता प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले धेरै चरणको छलफल गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।