आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

देउवाले केपी ओलीसँग घाँटी जोडेपछि कांग्रेसले देशभरिमा खाता पनि खोल्न सकेन

देउवाले केपी ओलीसँग घाँटी जोडेपछि कांग्रेसले देशभरिमा खाता पनि खोल्न सकेन

  • शुक्रवार, माघ १० २०७६

  • 5.1K
    SHARES

  • काठमाडौं – केही हप्तायता कांग्रेस सभापति शेरबहादुर देउवाले कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीसँग हिमचिम बढाएका छन् । देउवाको बालुवाटार आउजाउ बढेको छ । यसैकारण कांग्रेसले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता खोजबिन आयोगका पदाधिकारी नियुक्तिमा भागबण्डा पाएको छ । केपी ओलीसँग घाँटी जाडेर सरकारी नियुक्तिमा भागबण्डा पाइरहेको कांग्रेसले बिहीबार भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा खातासम्म खोल्न सकेन । राष्ट्रियसभा निर्वाचनमा सत्तासीन नेकपा एकलौटी विजयी भएको छ । १८ सदस्यका लागि भएको मतदानमा नेकपाले १६ सिट जितेको छ भने दुई सिट नेकपासँग गठबन्धन गरेको राजपाको भागमा परेको छ । विपक्षी कांग्रेसले सबै सिट गुमाएको छ । प्रत्येक दुई वर्षमा एकतिहाइ सांसदको कार्यकाल समाप्त हुने संवैधानिक व्यवस्थाअनुसार १८ पदका लागि निर्वाचन भएको थियो । एक सिटमा भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट पछि मनोनित हुनेछ । कांग्रेसका सातसहित १९ जना सांसदको कार्यकाल फागुन २० मा सकिँदैछ । नवनिर्वाचित राष्ट्रियसभा सदस्यको कार्यकाल फागुन २० पछि मात्र सुरू हुनेछ । निर्वाचन आयोगका अनुसार प्रदेश १ बाट नेकपाका गोपी अछामी, इन्दिरा गौतम र देवेन्द्र दाहाल निर्वाचित भएका छन् । अच्छामी दलिततर्फ, गौतम महिला र दाहाल अन्य समूहबाट निर्वाचित भएका हुन् । प्रदेश २ मा नेकपा–राजपा गठबन्धनका उम्मेदवारले जितेका छन् । महिला समूहतर्फ नेकपाकी तुलसाकुमारी दाहाल र दलिततर्फ नेकपाकै राधेश्याम पासवान विजयी भएका छन् । अपाङ्गता भएको व्यक्ति वा अल्पसंख्यक समूहतर्फ राजपाका शेखरकुमार सिंह र अन्यतर्फ राजपाकै मृगेन्द्रकुमार सिंह यादव निर्वाचित भएका छन् । बागमती प्रदेशमा नेकपाबाट महिला समूहतर्फ गंंगाकुमारी बेल्वासे र अन्यतर्फ वेदुराम भुसालले जितेका छन् । गण्डकीमा महिला समूहतर्फ नेकपाकी भगवती न्यौपाने र अन्यतर्फ नेकपाकै नारायणकाजी श्रेष्ठ निर्वाचित भएका छन् । प्रदेश ५ मा नेकपाकै गोपाल भट्टराई, विमला घिमिरे र जगप्रसाद शर्मा निर्वाचित भएका छन् । कर्णालीबाट नेकपाका मायाप्रसाद शर्मा र सुमित्रा बीसी निर्वाचित भएका छन् । सुदूरपश्चिम प्रदेशबाट नेकपाकै उम्मेदवार विजयी भएका छन् । महिला समूहतर्फ शारदादेवी भट्ट र अन्यतर्फ तारामान स्वाँर निर्वाचित भएका हुन् । नयाँ परिणामपछि ५९ सदस्यीय राष्ट्रियसभामा नेकपाका ५० जना (सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित तीन जनासमेत) सांसद हुनेछन् । आफ्ना १३ सदस्य रहेको प्रमुख विपक्षी कांग्रेस ६ सिटमा खुम्चिने भएको छ । राजपाका दुई र फोरमका एक जना सांसद रहनेछन् । संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभामा विपक्षी कांग्रेस नाम मात्रको प्रतिपक्ष बन्ने देखिएको छ । सरकारका कामकारबाहीमा अनुगमन, निर्देशन र नियन्त्रण गर्ने संसद्मा प्रमुख विपक्षीको भूमिका निरीह बनेको गुनासो समेत सुनिन्छ । नेकपाका आठ, कांग्रेसका सात, राजपाका दुई, समाजवादीका एक र एक जना राष्ट्रपतिबाट मनोनित (अर्थमन्त्री डा. युवराज खतिवडा) को कार्यकाल फागुन २० मा सकिन लागेको हो । राष्ट्रियसभा सांसदको म्याद सकिनु ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । नेकपाले आठ सिट सुरक्षित राख्दै थप आठ सिटमा कब्जा जमाएको छ । नेकपासँग तालमेल गरेर राजपाले दुई सिट सुरक्षित गरेको छ । कांग्रेससँग गठबन्धन गरेको समाजवादीले एक सिट गुमाएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभाका सांसद र स्थानीय तह (गाउँपालिका/नगरपालिकाका) का प्रमुख र उपप्रमुखले मतदान गरेका थिए । ७ सय ५३ स्थानीय तहका प्रमुख/उपप्रमुख गरी १ हजार ५ सय ६ जना र प्रदेशसभाका ५ सय ५० जना सांसद मतदाता थिए । स्थानीय तहका जनप्रतिनिधि र प्रदेश सांसदले दिने मतको भार भने फरक हुन्छ । स्थानीय तहका पदाधिकारीले दिने मतको भार १८ छ भने प्रदेश सांसदको मतको भार ४८ निर्धारण गरिएको छ । दुवै तहको मतभार ५३ हजार ५ सय ८ छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, माघ १० २०७६०१:२७:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend