काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आफ्नो माग पूरा नगरेपछि आक्रोशित समाजसेवी तथा सामाजिक अभियन्ता विनयजंग बस्नेतले अनौठो आन्दोलनको घोषणा गरेका छन् ।
बस्नेतले माघ ४ गते सरकार र सांसदहरूको ध्यानाकर्षण गराउने गरी नयाँ बानेश्वरस्थित संसद भवन अगाडि चार वटा नवजात शिशुसहित १९ वटा बेवारिसे लाशको प्रदर्शन गर्ने घोषणा गरे ।
बिहीवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै बस्नेतले आन्दोलनको घोषणा गरेका हुन् । विगत ६ वर्षदेखि बेवारिशे लाशको व्यवस्थापन गर्दै आएका समाजसेवी बस्नेतले आजसम्म २२७ बेवारिशे लाशहरूको आफ्नै हातबाट दागबत्तिसहित अन्त्येष्टि गरिसकेका बताए ।
बेवारिशे लाश व्यवस्थापनप्रति कम्युनिस्ट सरकारले खासै ध्यान नदिएको उनको गुनासो छ । ‘वास्तवमा राज्यले बेवारिशे लाशहरूप्रति अपहेलना गर्दै आएको छ । मैले त सुरूदेखि नै यसबारेमा सरकार र सम्बन्धित सरकारी तथा गैरसरकारी निकायहरूको ध्यानाकर्षण गराउँदै आएको छु । तर राज्य तथा निजी क्षेत्र दुवैबाट मेरो आग्रहको सुनुवाइ तथा सम्बोधन भएकै छैन । म निकै दुःखी छु,’ उनले भने ।
बेवारिशे लाशबारे जनताप्रति उत्तरदायी संघीय संसद र सरकारको नै ध्यानाकर्षण गराउने गरी माघ ४ गते ललितपुरबाट मलामीसहित शवयात्रा गराउने र संघीय संसद भवन अगाडि नयाँ बानेश्वरमा केही मिनेट बेवारिशे शवको प्रदर्शन र सभा आयोजना गर्ने बस्नेतले बताए ।
‘देशका उच्च पदस्थ व्यक्तिहरू मन्त्री तथा सांसदहरूले मृत्यु यस्तो पनि हुँदो रहेछ भनेर थाहा पाउन भनेर मैले यस्तो कदम चाल्न लागेको हुँ । मेरो उद्देश्य नै उहाँहरूको ध्यानाकर्षण गराउनु हो,’ उनले भने । सबैले आफूलाई अभियान तथा उद्देश्यमा साथ दिने भन्नेमा विश्वस्त रहेको उनले बताए ।
बस्नेतले संसद भवन अगाडिको केही मिनेटको बेवारिशे शव प्रदर्शनपछि बानेश्वर, कोटेश्वर, तिनकुने, सिनामंगल हुँदै गौशलास्थित पशुपति आर्यघाटमा पुर्याएर सामूहिक दाहसंस्कार गरिने कार्यक्रम रहेको छ । दाहसंस्कार कार्यक्रममा नेपाली सेनाको एक टुकडीले सलामीसमेत अर्पण गर्ने कार्यक्रम राखिएको बस्नेतले बताए ।
चर्चित अभिनेता तथा निर्माता दिपकराज गिरी, चर्चित युवा नायक पल शाह, चर्चित हाँस्य कलाकार मनोज गजुरेल, चर्चित नायिका तथा निर्माता रेखा थापा, राजनीतिक विश्लेषक प्राध्यापाक डा. सुरेन्द्र केसी, युवा पप गायक धीरज राई र युवा अभियन्ता ज्ञानेन्द्र शाही लगायतका सामाजिक अभियन्ताहरू मलामीको रुपमा सहभागी हुने जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।